कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

Machchapuchchre

अर्थ राजनीति ~  स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका शेरबहादुर देउवा भए । महाधिवेशनपछि पनि सिटौलाले आफ्नो समूहलाई निरन्तरता दिए । १४ औं महाधिवेशन आइपुग्दा आफ्नो समूह तलदेखि माथिसम्मै कायम रह्यो । पार्टीको निर्णय प्रक्रियामा प्रभाव देखाउन नसके पनि आन्तरिक प्रतिस्पर्धामा यो समूह निर्णायक शक्तिका रूपमा उदाएको छ । आगामी मंसिर ९–१३ गते हुने कांग्रेसको १४ औं महाधिवेशनमा परम्परागत गुटहरू भत्किने र नयाँ गुट थपिने देखिएको छ । सभापति देउवाले नेतृत्व गरेको संस्थापन समूहमा अहिले कम्तीमा दुई गुट देखिएको छ । अघिल्लो पटक सभापतिमा देउवालाई जिताउन ‘त्याग’ गर्न तयार भएकाहरू अहिले फरक ‘रवैया’मा छन् । देउवाका सारथी मानिएका उपसभापति विमलेन्द्र निधिले नै देउवालाई चुनौती दिँदै समापतिमा उमेदवारी घोषणा गरिसकेका छन् । देउवाका अर्का सहयोगी गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । अर्थात्, अब संस्थापन समूह एक नरहने निश्चित भयो । यो समूहका एक नेता आफूले चाहेको पद नपाउनेका लागि निधिको टिम सहज विकल्प हुने बताउँछन् । उनका अनुसार, निधिको प्राथमिकता पनि लामो समय देउवा समूहमा सँगै काम गरेका नेता–कार्यकर्तालाई आफ्नो समूहमा संगठित गर्ने नै हुनेछ र गुटहरू थपिँदै र बलियो बन्दै गर्दा पार्टी संरचनामा क्षमता, योग्यता र आवश्यकताको साटो भागवण्डाका नाममा पार्टी संगठनमा अवद्ध नै नभएकाहरुले स्थान पाउने गरेको गुनासो धेरै नेता कार्यकर्ताको छ । कांग्रेसभित्र तेस्रो धारको रुपमा उदाएको सिटौला समूह नै पनि यो महाधिवेशनमा एकढिक्का नरहने देखिएको छ । अघिल्लो महाधिवेशनमा यो समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन थापाले फेरि महामन्त्रीमै उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापतिका सबै आकांक्षीसँग सम्वादमा रहेका उनले आफ्नो प्यानल खुलाएका छैनन् । उता संस्थापन र पौडेल समूहका सभापतिका आकांक्षीहरु सिटौला समूहका नेताहरु तान्ने प्रयासमा छँदैछन् । त्यसैले, महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा गुटहरु भत्किने, बन्ने प्रक्रिया तीव्र हुने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्