एमाले त फुट्यो, के गर्लान अब दोस्रो पुस्ताका नेता ?

Machchapuchchre

अर्थ राजनीति  ~  एकताबद्ध भएको चार वर्ष पनि नपुग्दै केपी ओली नेतृत्वको नेपालकै सर्वाधिक ठूलो नेकपा (नेकपा) फुटेर तीन टुक्रा भएको छ भने अदालतबाट विभाजित भएर बनेको ओली नेतृत्वकै दल नेकपा एमाले पनि फुटेर एक वर्ष नपुग्दै दुई टुक्रा भएको छ । निर्वाचन आयोगले नयाँ दललाई अनुमोदन पत्र दिएपछि फुटले कानुनी मान्यता पाएको छ । नेपाली वामपन्थको इतिहासमा यो फुट धेरै हिसाबले अविस्मरणीय हुनेछ । यो यस कारणले कि नेपालमा मात्र होइन, पूरै दक्षिण एसियामा डबल नेकपाभन्दा ठूलो वामपन्थी पार्टी इतिहासमै बनेको थिएन । दुईतिहाइ नजिकको बहुमतका साथ यो पार्टीलाई जस्तो देश बदल्ने र इतिहास रच्ने अपूर्व अवसर नेपालको कुनै वामपन्थी पार्टीलाई यसअघि उपलब्ध भएको थिएन । एउटै विशाल दल नौ–दश महिना पनि नबित्दै टुक्रिँदै तीन हिस्सामा खण्डित भएको इतिहास पनि नेपालमा थिएन । भनिन्छ, विद्यार्थी बिग्रिए शिक्षक दोषी, सन्तान बिग्रिए अभिभावक दोषी, देश बिग्रिए सरकार दोषी, पार्टी बिग्रिए नेता दोषी । यस परिप्रेक्ष्यमा डबल नेकपा र एमाले दुवै यति छिटै यति सजिलै बिग्रिनु भत्किनुमा यसका नेता नै मूलतः जिम्मेवार छन् भन्ने कुरामा कुनै दुविधा पाल्नु पर्दैन । नेतृत्वको अहंकार, हठ, कुण्ठा र निरंकुशताले तथा पश्चगामी राजनीतिक सोचले कति छिटै एउटा विशाल पार्टीलाई नेपालको मामुली संसदीय प्रतिपक्षमा बदल्यो हाम्रोसामु उदाङ्गै छ ।

यस क्रममा माधवकुमार नेपालले आफ्नो नयाँ दल दर्ता गरिछोडेका छन् । निर्वाचन आयोगमा गरिएको सनाखतमा नेकपा एमालेबाट अलग हुने २७ प्रतिशत केन्द्रीय सदस्य पुगेपछि विवादित नयाँ अध्यादेशअनुसार उनको दल नेकपा (एकीकृत समाजवादी) नयाँ पार्टीका रूपमा एमालेबाट विभाजित भएर अस्तित्वमा आएको छ । पार्टी फुट्नुभन्दा एकता गर्नु कता हो कता धेरै राम्रो कुरा हो । तर, त्यो एकता वैचारिक, सैद्धान्तिक, नैतिक र राजनीतिक हुनुपर्छ । केवल सांगठनिक र गणितीय पार्टी एकता भयो भने त्यो टिकाउ हुँदैन । डबल नेकपाको फुटले त्यो प्रमाणित गरेको धेरै भएको छैन । परन्तु अहिले पनि विचार, सिद्धान्त, नैतिकता र राजनीति दोस्रो पुस्ताका नेताहरूको लागि नितान्त गौण विषय बनेको देखिएको छ । महत्त्वपूर्ण बनेको छ त आगामी चुनाव र त्यसमा आफ्नो पोजिसन र जितहार । त्यसैलाई सर्वाधिक महत्त्व दिएर उनीहरूले ओलीसित एकता गरेका हुन् भनेर लख काट्न कुनै गाह्रो छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्