अमेरिका : ट्रम्पले मागे राष्ट्रपति बाइडनको राजीनामा

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडनको राजीनामा मागेका हुन् । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्‍न र तालिबान लडाकूहरूलाई पराजित गर्न बाइडन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ । ट्रम्पले लेखेका छन्, ‘अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडनले राजीनामा दिनुपर्ने बेला आएको छ ।’  अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन् । अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरूले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन् ।तालिवान विद्रोहीहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन् । देश छाडेपछि उनले थप रक्तपात हुन नदिन र अरु लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको स्पष्ट पारेका हुन् । स्रोतका अनुसार अव तालिबान लडाकूहरूकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्