नेता कोइराला : ” पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारु गरियोस् “

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन ‘एक, दुई, तीन हुन्छ’ भन्दै ठोकुवा गरिरहेका बेला कोइरालाले भने प्रश्न उठाउनुभएको हो । लगातारजसो पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक भइरहने तर महाधिवेशनको प्रक्रिया भने नबढाउने के चाला हो भन्ने प्रश्न गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ । तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन । यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ  र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ ।’ कोइरालाको प्रश्न छ, ‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ?’ डा. कोइरालाको प्रश्न छ, लोकतान्त्रिक भनिएको पार्टी कांग्रेसले आफ्नै महाधिवेशन समयमा गर्न नसक्दो दुनीयाँले के भन्ला ? ‘यसबाट हामी उम्कने बाटो छैन । लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने ?’ तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारु गरियोस् भन्ने आग्रह छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्