संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक नभएको बताउदै संसदवादी दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउन आग्रह गरे । अहिले क्रान्तिकारी धार कमजोर रहेको र संसदवादी धार बलियो रहेको बताउँदै संसदवादी धारको एउटै पार्टी र क्रान्तिकारी धारबीच एकता हुनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘सरकारमा र संसदमा भएका कम्युनिष्टहरू एक ठाउँमा बस्नुपर्यो र सडकमा भएका कम्युनिष्टहरू पनि एकजुट हुनुपर्यो । सरकारमा रहेका कम्युनिष्टहरुले सडकमा रहेका कम्युनिष्टहरूलाई दमन गरेर जानुभएन ।’ उनले माधव नेपाल, प्रचण्डलाई यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्न खोजेको भन्दै प्रधानमन्त्रीको लोभ छोडेर पार्टी र जनताको लागि काम गर्न आग्रह गरे ।  नेता वैद्यले अहिले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्य प्रणालीमा  परिवर्तन नभएको बताए । हिजो परिवर्तनका लागि लडाई लडेर राजनीतिक परिवर्तन गरेपनि जनताको जीवनस्तरमा परिवर्तनका लागि कुनै काम नभएको उल्लेख गरे ।

अध्यक्ष वैद्यले कम्युनिष्ट पार्टीमा ३ धारा रहेको बताउँदै एउटा दक्षिणपन्थी धारा, एउटा मध्यमार्गी धारा र अर्को क्रान्तिकारी धारा रहेको उल्लेख गरे ।  कम्युनिष्ट पार्टी विभाजनको २ वटा मूल कारण हुने उनले बताए । उनले पहिलो कारणमा सैद्धान्तिक विचारधारा रहेको र कुन अन्तर्राष्ट्रिय नेतालाई मान्ने भन्नेमा विवाद रहेको बताए । अर्को विवादका रुपमा क्रान्तिको बाटोमा कसरी जाने भन्ने रहेको उनको भनाई छ ।  संसदीय बाटोबाट जाने कि क्रान्तिकारी बाटोबाट जाने भन्नेमा पनि कम्युनिष्ट पार्टीमा समस्या रहेको उल्लेख गरे । हिजो माले र मसाल एकता हुन नसक्नुको कारण सैद्धान्तिक राजनीतिक कारण रहेको बताए ।  पार्टी फुट्नुको अर्को कारण नेताहरुमा रहेको अहम रहेको उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्