एमाले कार्यदल बैठक सकारात्मक, भोलि टुङ्गोमा पुग्ने नेताहरूको दाबी

Machchapuchchre

अर्थ राजनीति  ~   नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरूले बताएका हुन् । बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदिपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताउनुभयो । एमाले विवादलाई भोलिसम्म टुङ्गोमा पुर्याइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उहाँहरूका भावना बुझ्ने कुराहरू पनि भइरहेका छन । कार्यदल भित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’त्यस्तै कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक रूपले अघि बढेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरूलाई ध्यानमा राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुङ्गोमा पुग्न लागेको बताउनुभयो । बुधबार साँझसम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर कार्यदलको बैठकबाट एकताको लागि टुङ्गोमा पुर्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सबैसँग छलफलका लागि आज दिनभरीको समय चाहिने आवश्यकता महशुस गर्‍यौँ र साँझसम्म ति सबै काम भइसक्छन् र भोलि फेरि बैठकलाई औपचारिक रुपमा सुरु गर्छौं ।’कार्यदल बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्