अब बेजिल्ले लिखत पारित हुनेः अनलाइन प्रणालीबाट जग्गा किनबेच सजिलो

Machchapuchchre

अर्थ राजनीति  ~  आगामी साउन १ देखि जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको छ। अहिले मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको छ। साउनबाट भने दार्चुलाको जग्गा ताप्लेजुङबाट पनि किनबेच गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। अहिले १२६ वटा मालपोत कार्यालयमध्ये ११८ वटा कार्यालयमा भू-सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) लागु भइसकेको छ। यसै आर्थिक वर्षभित्र १२६ वटै कार्यालयमा यो प्रणाली लागु गर्ने तयारी भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘अनलाइन सिस्टमले सबै मालपोतलाई एउटै सञ्जालमा जोड्छ,’ उनले भने। सबै कार्यालयमा यो प्रणाली लागु भएपछि जग्गा किनबेच गर्नको लागि जग्गा रहेको मालपोत कार्यालयमै जानुपर्ने बाध्यताको अन्त्य हुने विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए। ‘जग्गा किन्ने र बेच्ने दुवै मान्छे एकै ठाउँमा छन् भने जुनसुकै कार्यालयबाट पनि जग्गा किनबेच हुन्छ,’ उनले भने, ‘यसका लागि अतिरिक्त शुल्क भने लाग्नेछ।’ सबै प्रदेशको बजेट पारित हुँदा यो प्रस्ताव पारित भएमा सर्वसम्मत रुपमा बेजिल्ले लिखत पारित गर्ने व्यवस्था लागु हुनेछ। कुनै प्रदेशले यो प्रस्ताव पारित नगरेमा भने कसरी अघि बढ्ने भन्नेमा केही अन्योल हुनसक्ने घिमिरेले बताए। अहिलेसम्म सुदूरपश्चिम प्रदेश सरकारले यो व्यवस्थालाई स्वीकृति दिइसकेको छ। अरु प्रदेशमा भने बजेट छलफलकै क्रममा रहेकाले पारित हुने नहुने निश्चित छैन। सबै कार्यालय डिजिटल प्रणालीमा गइसकेको अवस्थामा प्रदेशको राजस्व बढ्ने र जनताले सहजरूपमा घरजग्गा किनबेच गर्न सक्ने हुनाले सबै प्रदेशले यसलाई स्वीकृत गर्ने विभागको विश्वास छ।

यसले बेजिल्ला मात्रै होइन एउटै जिल्लामा पनि फरक कार्यालयमा गएर छिटो छरितो घरजग्गा किनबेच गर्न सक्ने बाटो खोल्ने घिमिरेले बताए। ‘डिल्लीबजार कार्यालयमा अत्यधिक भिड भएको खण्डमा उनीहरु चाबहिल, टोखा वा कलंकीमा गएर पनि जग्गा किनबेच गर्न सक्छन्,’ उनले भने, ‘यसले आपत विपतमा छिटो छरितो काम लिन सकिने सुविधा दिनेछ।’ विदेशमा बस्ने नेपालीहरुले समेत नेपालमा भएको आफ्नो घरजग्गा विदेशमै बसेर किनबेच गर्न सक्ने प्रणालीको विकास भइरहेको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। विकट पहाडी जिल्लामा रहेका मालपोत कार्यालयहरुमा समेत अनलाइन प्रणाली लागु भएसँगै विदेशमा बस्ने नेपालीले पनि घरजग्गा किनबेच गर्न सक्ने वातावरण निर्माण हुँदै गएको भूमि सचिव टेकनारायण पाण्डेले बताए।अनलाइन प्रणाली सुरु भएको पाँच वर्षपछि देशभरका १२६ वटा कार्यालय मध्ये ११८ वटा कार्यालयमा एलआरआइएमएस लागु भइसकेको छ। अब आठवटा कार्यालयमा मात्रै यो प्रणाली लागु हुन बाँकी रहेको छ। आगामी आर्थिक वर्षभित्रै १२६ वटै कार्यालयमा अनलाइन प्रणाली र भू-सेवा केन्द्र दुवै सञ्चालनमा आइसक्ने विभागको दाबी छ। जग्गा प्रशासनका सबै काम डिजिटल्ली गर्न सकिने भएपछि अहिले विदेशमा बस्ने नेपालीले राजदूताबासमै गएर सनाखत गर्नुपर्ने परम्पराको पनि अन्त्य गर्न लागिएको निर्देशक सुवेदीले बताए। ‘यसको गृहकार्य सुरु भइसकेको छ। सम्भवतः अबको दुई वर्षभित्र विदेशमा बस्ने नेपालीले पनि सहजै आफ्नो घरजग्गा किनबेच गर्न सक्ने छन्,’ उनले भने। अनलाइन प्रणालीलाई समय अनुसार सुधार गर्दै लैजाने र निकट भविष्यमा मालपोत कार्यालयहरुलाई क्यासलेस, पेपरलेस र फेसलेस बनाउने विभागको योजना रहेको महानिर्देशक पौडेलले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्