असार २४ मा चीनबाट आउने खोपले अर्थतन्त्र तंग्रिने आशा

Machchapuchchre

अर्थ राजनीति  ~  कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने खोप आउन केही ढिलाइ हुने भए पनि सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीले उत्पादन गरेको खोप ल्याउने भएको छ । विगत करिब १६ महिनादेखि कोरोनाका कारण सुस्ताएको अर्थतन्त्र कोरोनाको खोपका कारण तंग्रिने आशा पनि गरिएको छ । सरकारले असार २४ बाट चीनको बेइजिंङस्थित सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप ल्याउन लागेको हो । नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने खोप तत्काल नआउने संकेत पाएपछि चीनको ४० लाख मात्रा भेरोसेल खोप ल्याउनका लागि सम्झौता गरिसकेको छ । त्यसअन्तर्गत १० लाख मात्रा भने एक साताभित्र आउन लागेको हो । लामो प्रयासपछि पनि यसअघि लगाइएको कोभिसिल्ड खोप प्राप्त नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनोफार्मसँग खोप ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीबिच खोप खरिदको लागि भएको सम्झौता अनुसार प्राप्त खोपलाई लगाउने नीति लिएको छ । खोपको मात्रा र खरिद मूल्यका विषयमा भने सार्वजानिक गरिएको छैन । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार, २४ असारबाट खोप साप्ताहिक रुपमा विभिन्न चरणमा आपूर्ति गर्ने तयारी भएको छ । मन्त्रालयले खोपको निरन्तर आपूर्ति भएपछि कोभिड १९ विरुद्धको खोप अभियान पुनः सुचारु हुने गरी व्यवस्था मिलाइएको जनाएको छ । यसका साथै गाभि कोभ्याक्स सुविधाबाट समेत छिट्टै थप खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार गरिने मन्त्रालयले जनाएको छ । दोस्रो मात्राको कोभिसिल्ड खोपको पर्खाइमा रहेका १८ लाखले भने अभै केही समय पर्खनुपर्ने देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभ्याक्स अन्तर्गतको खोप नआएपनि खोप लगाउने काम भने निरन्तर रहने जनाए । हालसम्म कुल जनसंख्याको २५ लाख ७४ हजार ७१५ अर्थात् ९ प्रतिशतले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० अर्थात ३ प्रतिशतलाई दोस्रो मात्रा खोप प्रदान गरि सकिएको छ । यसअघि चीनबाट १८ लाख भेरोसेल, भारतबाट १५ लाख कोभिसिल्ड र बाँकी अन्य दातृ निकायले दिएको खोप गरी ३३ लाखलाई खोप दिइएको छ । असार १९ गतेसम्म कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ र दोस्रो मात्रा ४ लाख ५९ हजार ९५२ जनाले लगाएका छन् । यसैगरी भेरोसेलको पहिलो मात्रा ७ लाख ७६ हजार ३८२ जनाले लगाएका छन् । सरकारले खोप प्राप्तिका लागि सम्भव सबै विकल्पहरु अपनाई कोभिड– १९ बिरुद्धको खोप अभियानलाई निरन्तरता प्रदान गरिरहेको जनाएपनि हालसम्म ७ लाख ५७ हजार ९६२ जनाले मात्र पूर्ण खोपको मात्रा पाएका छन् । सरकारले अन्तरराष्ट्रिय क्षेत्रमा खोप अभियानका लागि काम गर्दै आएको १० संस्थाको छाता संगठन गाभी, कोभ्याक्स सुबिधा, कोभिड १९ खोप उत्पादक मुलुक, उत्पादक कम्पनीहरु तथा तिनका वितरकहरुसँग खोपको प्राप्ति तथा खरिदका लागि निरन्तर संवाद तथा छलफल हुँदै आएको छ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप छिमेकी मित्र राष्ट्र भारत, चीन र बाँकी गाभी कोभ्याक्स सुबिधाबाट सहयोग स्वरूप प्राप्त गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्