कोषको विश्वास भएन भन्दै बैंकका कर्मचारी सञ्चय कोषबाट ऋण झिक्दै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  साँवा पनि गुम्ने भन्दै आन्दोलन गरिरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले अहिलेसम्म सञ्चय कोषमा जम्मा भएको रकम निकाल्न थालेका छन्। आन्दोलन सफल भएन र यदि सामाजिक सुरक्षा कोषमा जानै पर्ने अवस्था आएमा अहिलेसम्म जम्मा भएको पैसा त्यहाँ राख्नुपर्ने भन्दै उनीहरुले धमाधम पैसा झिक्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको सुरक्षाका लागि सञ्चय कोषमा रकम जम्मा गरिदिन्छन्। आधा पैसा कर्मचारीले आफ्नो तलबबाट जम्मा गर्नुपर्छ। यसरी जम्मा भएको रकमबाट ९० प्रतिशतसम्म ऋणका रुपमा झिक्न पाइन्छ। अवकाश हुँदा सम्पूर्ण रकम झिक्न पाइन्छ। कोषमा जाँदा अहिलेसम्म जम्मा भएको सबै रकम ल्याउनुपर्ने कानुनी प्रावधान छ। यही प्रावधानबाट डराएका कर्मचारीहरुले सञ्चय कोषमा जम्मा भएको रकम झिक्न थालेका हुन्। नबिल बैंकले डेढ सय जति संस्थाहरुको कोषको काम गर्छ। सामाजिक सुरक्षा कोषमा असार मसान्तभित्र जानै पर्ने दबाब आएपछि कोष व्यवस्थापक नबिलमा अहिले दैनिक ५० जनाका दरले कर्मचारीले ऋण माग गर्न थालेका छन्। अहिलेसम्म ३/४ सय जनाले माग गरिसकेको सम्बद्ध कर्मचारीले बताए। यस्तो हालत नबिलमा मात्र होइन बैंक अफ काठमाण्डू, एभरेष्ट, सानिमा, प्रभुलगायतका बैंकमा पनि छ। ‘अहिले सामान्यजस्तो अवस्था छैन। ऋणका लागि आवेदन दिनेहरु बढेका छन्,’ सानिमा बैंक स्रोतले भन्यो, ‘साँवा डुब्छ भनेर लिइरहेका छन्। आवेदन पनि दिइरहेका छन्।’सञ्चय कोषबाट पैसा झिक्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति चाहिन्छ। यसरी स्वीकृति माग्नेहरुको संख्या यसपाली बढेको प्रभु बैंक स्रोतले जनाएको छ। सामाजिक सुरक्षा कोषले जबर्जस्ती गर्‍यो भन्दै अहिले बैंकका कर्मचारीहरु आन्दोलनमा छन्। उनीहरु मुद्दामा जाने तयारीमा समेत छ। यदि अदालतबाट अन्तरिम आदेश आएन भने के गर्ने भन्ने विकल्प सोच्दा धेरैले पैसा झिक्ने निष्कर्ष निकालेको उनीहरु बताउँछन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्