काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आज कालो दिवस मनाइँदैछ । २०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला बीपी लगायतका नेतालाई पक्राउ गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।