जेठ २ मा फर्कंदा ओलीकै बहुमत, माधव नेपाल अल्पमतमा

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेको संस्थापन पक्षले जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले ०७५ जेठ २ पूर्वको संरचनामा फर्कने निर्णय गरेको हो । आज (बुधबार) बालुवाटारमै बस्ने महाधिवेशन आयोजक समितिको बैठकले यसबारे ठोस निर्णय गर्ने नेताहरुले संकेत गरेका छन् । यससँगै महाधिवशेन आयोजक कमिटी निश्क्रिय हुने बताइएको छ । माओवादीसँग एकता हुनुअघिको अवस्थामा फर्कँदा पनि नेकपा एमालेको केन्द्रीय कमिटीमा ओली समूहकै बहुमत पुग्ने र माधव नेपाल पक्ष अल्पमतमा पर्ने देखिएको छ । माधव नेपाल पक्षका नेता युवराज ज्ञवाली भन्छन्, ‘तत्काल टाउको गन्दा केन्द्रीय कमिटीमा थोरै भए पनि उहाँ(ओली) कै बहुमत पुग्छ । तर, पछिल्लो समय ओलीजी धेरै बदनाम भइसक्नुभएको छ, विस्तारै उहाँसँग बहुमत नरहने हामीले देखेका छौं ।’केपी ओलीको पक्षमा रहेका कतिपय केन्द्रीय नेताहरुले राजदूत र प्रदेश प्रमुख लगायतका नियुक्तिहरु पाएका कारण संख्या घटेको र  बहुमत–अल्पमतको झिनो अन्तर मात्रै रहेको ज्ञवाली बताउँछन् । ज्ञवालीले ओली समूहका केन्द्रीय सदस्यहरुको संख्या घट्ने बताइरहँदा ०७५ सालयता माधव समूहमै रहेका केही नेताहरु ओली समूहतिर लागेको देखिन्छ, जस्तै– शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबुप्रसाद यादव र लालबाबु पण्डित लगायतका नेताहरु माधव नेपाललाई छाडेर ओलीतिर लागेका छन् । तर, अब केपी ओलीले गरेको गल्तीका कारण विस्तारै उताको संख्या घट्न थाल्ने नेपाल पक्षका नेताहरुको दाबी छ । त्यसो त २०७५ जेठ दुई अगाडि फर्कंदा कति सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने भन्नेमा ओली पक्ष र माधव पक्षबीच सहमति जुट्नै बाँकी छ । माओवादीसँग एकता हुनुअघिसम्म नेकपा एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय मात्रै थियो । एकताको पूर्वसन्ध्यामा एमालेको केन्द्रीय कमिटीमा महेश बस्नेत, गोकुल बाँस्कोटा, खगराज अधिकारी लगायतका तीन दर्जन नेताहरु थपेर २४१ सदस्यीय बनाइएको थियो । जेठ २ मा फर्केर केन्द्रीय कमिटीको बैठक आयोजना गर्दा कति जनाको बैठक बस्ला, यो विषय शुक्रबारअघि नै टुंगो लाग्नुपर्ने नेताहरु बताउँछन् । किनभने, शुक्रबार ओली पक्षले जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक डाकेको छ । यद्यपि त्यसमा माधव नेपाल पक्ष जाने, नजाने टुंगो लागिसकेको छैन । उपाध्यक्ष ज्ञवालीका अनुसार एकतर्फी रुपमा डाकिएको त्यो बैठकमा जाने नजाने आफ्नो समूहमा छलफल हुनै बाँकी छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्