गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

Machchapuchchre

काठमाडौं– व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले नेपालमा उडान भर्ने वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग रायसुझाव लिइएको कार्यदलका संयोजक प्रतापबाबु तिवारीले राससलाई जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । छिट्टै थप तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने तयारी गरेका छन् ।

नयाँ विमानस्थल सञ्चालन आउनुअघि एयरलाइन्सका प्रतिनिधिसँगको व्यावसायिक अभ्यासलाई मध्यनजर गरी उनीहरुको सुझाव महत्वपूर्ण हुने भएकाले छलफल गरिएको संयोजक तिवारीले बताए । सो अवसरमा प्राधिकरणकोतर्फबाट विमानस्थलको भौतिक काम सकेर उपकरण जडानको अवधिभित्र सबै तयारी गरेर उडानयोग्य बनाउन एयरलाइन्सलाई आग्रह गरेको थियो ।

विमानस्थलले उपलब्ध गराउने सुविधामा कुनै कमी आउन नदिने, विमानस्थलको सबै सेवालाई सुरक्षित, व्यवस्थित र चुस्त बनाउन प्राधिकरणले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको थियो । जवाफमा एयरलाइन्सले विमानस्थल कहिले सञ्चालनमा आउने र के कस्ता आकर्षक सहुलियत प्याकेज हुन्छन् त्यसबारे प्राधिकरणसँग धारणा मागेका थिए ।

अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप वर्षमा दुई पटक मार्च र अक्टोबर महिनामा विमानस्थलको उडान तालिका बनाइन्छ । सोही तालिकालाई ‘मिट’ गर्नेगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ । त्यो भनेको सन् २०२० को मार्च महिना हो । यो विमानस्थल मार्च महिनाभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । हाल विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्