शेयर लगानीकर्ता बैंकमा झुम्मिए, फेरि बढ्यो अर्को जोखिम

Machchapuchchre

अर्थ राजनीति  ~  असार महिनाको पहिलो दिनदेखि नै सुरु भएको उतारचढाव शेयर बजारमा कायमै छ । अघिल्लो हप्तादेखि नै गुम्दै आएको मनोबल लगानीकर्ताहरूमा फिर्ता भइसकेको देखिँदैन । फलस्वरूप आइतबार साताको पहिलो कारोबारमा पनि कारोबार रकम सात अर्बमा सीमित रह्यो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा लगातार आएको गिरावटले लगानीकर्ताहरूको मनोबल खस्केको स्पष्टरुपमा संकेत गरेको छ । प्राय बजार घट्दा या बढ्दा कुनै एउटा निश्चित क्षेत्रको शेयरमूल्यमा उतारचढाव हुने गरेको देखिन्छ । तर, आइतबारको बजार हेर्ने हो भने नेपालको शेयर बजारले आफै स्थापित गरेको ट्रेन समेत भत्किएको छ । आइतबार शेयरमूल्यमा सर्वाधिक वृद्धि हुने कम्पनीहरूमा अधिकांश हाइड्रोपावर र वाणिज्य बैंक रहेका छन् । तर, इन्स्योरेन्स कम्पनीहरू  एस  बिचमा उत्तिकै उपस्थिति देखाउन सफल देखिन्छन् । यसले के देखाउँछ भने लगानीकर्ताहरू कुनै एउटा मात्रै क्षेत्रमा केन्द्रित भइरहेका छैनन् । तर, आइतबारको बजार हेर्दा अब वाणिज्य बैंक तिर लगानीकर्ताहरू झुम्मिने स्पष्ट संकेत भने देखिएको छ । यसले के चिन्ता बढाएको छ भने कतै क्षेत्रगतरुपमा आउने छालमा आँखा चिम्लेर लगानीकर्ताहरू हाम्फाल्ने त होइनन् ? अब आम लगानीकर्ताहरूले कुनै निश्चित क्षेत्र होइन की आफूले लगानी गर्न चाहेको निश्चित कम्पनीलाई नै हेरेर निर्णय गर्नुपर्ने बेला आइसकेको छ । अझै पनि लगानीकर्ताहरूले विगतमा झैँ कहिले हाइड्रो त कहिले इन्स्योरेन्स, कहिले बैंक त कहिले माइक्रो फाइनान्स भन्दै कुद्ने बानीमा आमूल परिवर्तन गर्नुपर्ने स्पष्ट संकेत बजारले गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्