औद्योगिक क्षेत्रको विस्तार र विकासमा केन्द्रित हुनु : मन्त्री राजकिशोर यादव

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने आफ्नो मूल उद्देश्य रहेकोे बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । औद्योगिक क्षेत्रको विस्तार र विकासले मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको भन्दै उनले आफू अहिले यसैप्रति केन्द्रित रहेको बताए । यसका लागि आफूले सञ्चालित उद्योगहरुलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योगहरु स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडी बढाएको मन्त्री यादवले बताए । उद्योगी व्यवसायीहरुको सुरक्षाको जिम्मेवारी राज्यको रहेको र यसमा राज्यले कुनै कसर बाँकी नराख्ने भन्दै उनले औद्योगिक क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । देशमा व्यावसायिक हकहित र उद्योगमैत्री वातावरण निर्माणका लागि राज्य गम्भीर रहेको भन्दै बिना हिच्किचाहट मुलुक भित्रका र बाहिरका लगानीहरुकर्ताहरुलाई औद्योगिक क्षेत्रमा बढीभन्दा बढी लगानी गर्न उनको आग्रह छ । तर, सरकारी मापदण्ड उल्लंघन गर्नेलाई भने छुट नहुने पनि मन्त्री यादवले बताए । बिना अनुशासन कुनै पनि मिसन सम्भव भएको इतिहास नरहेको भन्दै उनले देशमा औद्योगिक विकासका लागि राज्यमात्र गम्भीर भएर नहुने भएकाले उद्योगी व्यवसायी पनि गम्भीर हुनुपर्ने तर्क उनको छ । उद्योगी व्यवसायीहरु राज्यको औद्योगिक विकास एवं विस्तारको अभियानमा सच्चा मनले योगदान गरे राज्य अभिभावकत्व प्रदान गर्ने बाचा उनले गरे । मन्त्री यादवले कोरोना महामारीका कारण धारासायी बनेको औद्योगिक क्षेत्रको पुनरुत्थान र संरक्षण गर्दै गतिशील बनाउन गृहकार्य थालिसकेको पनि जनाए । मुलुकमा आपूर्ति व्यवस्थालाई सहज र सबैको पहुँच हुने खालको बनाएर उपभोग्य सामाग्रीको अभाव समस्या अन्त्य गर्न पनि काम भइरहेको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्