१० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरे

Machchapuchchre

अर्थ राजनीति  ~  सेयर बजारमा आइतबार हालसम्मकै उच्च कारोबार भयो। दिनभरीमा २२० कम्पनीको १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो। यो एकल कारोबार हो। सेयर ब्रोकरमार्फत हुने खरिद र बिक्री दुवै कारोबार हेर्दा यो ३९ अर्ब रुपैयाँभन्दा बढीको किनबेच हो। यो किनबेचमा १० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरेका छन्। त्यसमध्ये ५८ नम्बर ब्रोकर नासा सेक्युरिटिजले सर्वाधिक रकमको सेयर किनबेच गराएको छ। नासाले २ अर्ब ५६ करोड रुपैयाँको कारोबार गराएको हो। यसपछि अनलाइन सेक्युरिटिजले एक अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, सबैभन्दा कम कारोबार गर्ने ब्रोकरले पनि ८ करोड ८१ लाख रुपैयाँको कारोबार गरेको छ। कुल कारोबारबाट ब्रोकरहरुले एकै दिन ६ करोड ८९ लाख रुपैयाँ कमिसन उठाएका छन्। यो कमिसन १८ पैसाका दरले हिसाब गरिएको हो। इम्पेरियल सेक्युरिटिजले एक अर्ब ६१ करोडको कारोबार गरेको छ भने शनि सेक्युरिटिजले एक अर्ब ५५ करोडको कारोबार गरेको छ। यसपछि भिजन सेक्युरिटिजले एक अर्ब ४० करोडको कारोबार गरेको छ भने दीपशिखाले एक अर्ब ३५ करोडको कारोबार गरेको छ। आर्यतारा इन्भेष्टमेन्टले एक अर्ब २६ करोडको कारोबार गरेको छ भने डाइनामिक मनीले एक अर्ब १८ करोडको कारोबार गरेको छ। यसैगरी सुमेरु सेक्युरिटिजले एक अर्ब चार करोड र नेपाल स्टक हाउसले एक अर्ब एक करोड रुपैयाँको कारोबार गरेको छ। यी १० कम्पनीले मात्र ब्रोकर कमिसनबाट २ करोड ६५ लाख रुपैयाँ उठाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्