तामाकोसी अर्को बर्ष मात्रै सञ्चालनमा आउने १० वर्षमा पनि पूरा नहुने भयो आयोजना

Machchapuchchre

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय लाग्ने भएको हो । नयाँपत्रिका दैनिकले समाचार लेखेको छ ।

गत असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । आयोजनाका संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य ०७६ को चैतभित्र पूरा गरी ०७७ असारभित्र पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर, अहिलेकै गतिमा काम हुने हो भने दुईवटै ठाडो सुरुङमा पेनस्टेक जडानका लागि मात्र झन्डै १३ महिना लाग्ने देखिएको छ । पाइप जडानपछि फिनिसिङ तथा परीक्षण कार्य सक्न कम्तीमा २ महिना लाग्ने अनुमान छ । यसरी अहिलेकै गतिमा काम भएमा १५ महिनाअघि आयोजना सञ्चालनमा नआउने देखिएको हो ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडान सक्न अझै १२ महिना
आयोजनाको ३१० मिटर गहिरो माथिल्लो ठाडो सुरुङ जडान कार्य लट २ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामनको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले गरिरहेको छ । ६ महिनामा उक्त कम्पनीले ६२.५ मिटर मात्र पाइप जडान गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार उक्त कम्पनीले ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र १८ टन तौलका २ वटा (१० मिटर) पाइप जडान गर्न ११ दिनदेखि २० दिनसम्म लगाएको छ । औसतमा १० मिटर पाइप जडान गर्न १५ दिन लगाएको छ । यो गतिलाई आधार मान्ने हो भने बाँकी २४८ मिटर पाइप जडान गर्न ३ सय ७२ दिन अर्थात् एक वर्ष ७ दिन लाग्छ ।

तल्लो ठाडो सुरुङमा पाइप जडान सक्न अझै साढे ६ महिना
आयोजनाको ३७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट –३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एड्रिज हाइड्रोले गरिरहेको छ । एन्ड्रिजले काम सुरु गरेकाले ६ महिनामा १ सय ६० मिटर पाइप जडान सकेको छ । हाल उक्त कम्पनीले ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र २७ टन तौलका २ वटा (१० मिटर) पाइप जडान गर्न ९ दिन लगाइरहेको छ । जडानको यो गतिलाई आधार मान्दा बाँकी २ सय १३ मिटर पेनस्टक पाइप जडान सक्न १ सय ९१ दिन अर्थात् ६ महिना ११ दिन लाग्ने देखिन्छ ।

पेनस्टक पाइपसमेत आपूर्तिमा ढिलाइ
दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएका टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । अहिले एन्ड्रिजको तुलनामा टेक्सम्याकोको कामको गति निकै सुस्त देखिएको छ ।

आवश्यक सम्पूर्ण पेनस्टक पाइपसमेत आयोजनास्थलमा आपूर्ति भइनसकेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार टेक्सम्याकोको कार्य प्रगति निकै सुस्त देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काम चाँडो सक्न कम्पनीकै इन्डियास्थित मुख्य कार्यालयमा पुगेर निर्देशन दिएका थिए । टेक्सम्याकोले कामको गति बढाइ समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाए पनि समयमै काम सकिने विश्वस्त हुने आधार भने नदेखिएको आयोजना पक्षको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्