नेकपा अध्यक्षद्वयको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले

Machchapuchchre

काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै जाँदा सरकारको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन् । एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट दाहालले पेस गरेको प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘पार्टी संस्थागत छैन । विभिन्न प्रकारका गुट झाँगिँदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तीन महिनाभित्र पार्टी एकीकरण गर्ने प्रतिबद्धता पूरा हुन नसक्दा पार्टी र सरकार सञ्चालन प्रक्रियामै समस्या उत्पन्न भएको पनि जनाइएको छ । ११ पृष्ठ लामो प्रतिवेदनमा पार्टी एकीकरणमा देखिएको समस्या, मौलाएको गुट/उपगुट, भारतीय पक्षबाट मिचिएको पश्चिम नेपालको सिमाना, चीनको बीआरआई र अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीतिबीचको टकराब र उपचुनाव समीक्षासहितका विषय केलाइएको छ । प्रतिवेदनको भूमिकामै स्थायी समिति बैठक ढिलोसम्म नबस्नु गम्भीर कमजोरी र विचलन भएको उल्लेख गरिएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली अनुपस्थित भएकाले प्रतिवेदन दाहालले प्रस्तुत गरेका थिए । विधानत: ३/३ महिनामा बैठक बोलाउनुपर्ने भए पनि नेकपा स्थायी समितिको बैठक एक वर्षपछि बसेको हो । प्रतिवेदनमा भारतीय पक्षले नेपाली भूमि समेटेर आफ्नो नक्सा सार्वजनिक गर्नु असह्य रहेको भनिएको छ । उक्त समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

सीमा समस्या समाधानका लागि पार्टी र सरकारले पहल सुरु गरिसकेको जानकारी गराउँदै प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी, सरकार र आम जनताले तत्काल राजनीतिक र कूटनीतिक संवादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ ।’ सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट रहेको पनि प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्