विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री

Machchapuchchre

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्तर्क्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए ।

‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’ कार्यक्रममा एक सहभागीले मन्त्री भट्टराईलाई ‘कसको सेटिङमा विदेशीलाई बढी भाडा असुल्ने कार्यविधि बनाउनुभयो ?’ भनी सोधेका थिए । जवाफमा उनले आफूले यस्तो कार्यविधि नबनाएको उल्लेख गर्दै कसले बनाएको भनेर इतिहास खोतल्न सुझाव दिए ।

यसअघि मन्त्री भट्टराईले एक कार्यदल गठन गरेर हवाई भाडामा लिएको दोहोरोपनबारे अध्ययन गराएका थिए । कार्यदलको अध्ययनअनुसार नेपालीको तुलनामा विदेशी नागरिकले करीव दोब्बर मूल्य तिरेर नेपालमा हवाई यात्रा गर्नपेरेको छ । यसले नेपाल महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको छ । विदेशीका लागि लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्