प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : विज्ञ

Machchapuchchre

अर्थ राजनीति  ~   प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् । निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील जारी गरेर भोट माग्नु अनि मतदाताहरुमा धम्कीको भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएका छन् । निर्वाचन आयोगले पनि यसमा आफ्नो ध्यानाकर्षण भएको बताइसकेको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती यसरी मौन अवधिमा सरकारले फलानालाई मतदान गर भन्नु आचारसंहिताको उल्लंघन भएको बताउँछन् । उनी भन्छन्, ‘यो आचारसंहिताको उल्लंघन हो, प्रधानमन्त्रीले यसो नगरेको भए हुन्थ्यो । प्रधानमन्त्री वा पार्टी नेता कसैले पनि मौन अवधिमा यस्तो कार्य गर्न पाइँदैन ।’

विगतका सरकारहरुले पनि चुनावका बेला यसै गरी आचारसंहिता उल्लंघन गर्ने र मन्त्रीहरु नियुक्त गर्ने गरेको सम्झँदै उप्रेतीले भने,‘ राजनीतिक दलहरूलाई कति सम्झाउने ? हामी भन्दाभन्दै थाकिसक्यौँ । यसरी आचारसंहिता उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही हुनुपर्ने हो ।’राष्ट्रियसभाको सदस्य पदका लागि विहीबार हेटौंडामा मतदान हुँदैछ । मतदानको अघिल्लो दिन प्रधानमन्त्री ओलीले अपील जारी गर्दै  एमाले उम्मेदवार बादललाई मतदान नगरे क्षम्य नहुने भन्दै स्थानीय तह र प्रदेशका एमाले जनप्रतिनिधिहरूलाई चेतावनी दिएका हुन् । राष्ट्रियसभामा एमालेकै दुई उम्मेदवार छन् । माधव नेपाल पक्षले काँग्रेस र माओवादीको समर्थनमा वामपन्थी बुद्धिजीवी डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । नेता नेपालको सचिवालयले पनि मौन अवधि सुरु भइसकेपछि मंगलबार प्रेस नोट जारी गर्दै बादललाई सघाउन नसकिने बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्