कोरोना नियन्त्रण गर्न सरकारले केही गरेन भन्नु मूर्खता : प्रधानमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न सरकारले केही गरेन भन्नु मूर्खता भएको टिप्पणी गरेका छन् । एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला मात्र स्थापना भएको भन्दै उनले भनेका छन्, ‘यसबीचमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए । ‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ’, उनले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।’ अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधि लगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने बताए । कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुने उनले बताए । ‘हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भने, ‘समस्या भए समस्या छन् पो भन्नुप्यो, कोल्याप्स भयो त भन्नुभएन ।’ हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले  समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न निर्देशन दिए । ‘त्यहाँ पालो लगाएर मान्छे राख्नुस्, देशभरिका अस्पतालसँग, सुरक्षा निकायका प्रमुखसँग समन्वय हुनुपर्छ, आएको गुनासाको उचित सम्बोधन हुनुपर्छ, धेरै लाइन चालू गर्नुपर्छ’, उनले भनेका छन् । संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेतर्फ सरकार सचेत रहेको जनाउँदै उनले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । ‘जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्