कोभिड विरुद्धको लडाइँमा निजीक्षेत्रबाट भएका प्रशंसनीय काम

Machchapuchchre

अर्थ राजनीति ~  कोरोना संक्रमणबाट नेपालमा पछिल्ला केही दिनयता दैनिक २ सयभन्दा बढीले ज्यान गुमाइरहेका छन्  तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको काम गर्ने रफ्तारमा भने खासै परिवर्तन आउन सकेको छैन । अस्पतालमा अक्सिजनको अभाव छ भने कोरोना संक्रमितले उपचारका लागि बेडसम्म पाउन पनि उत्तिकै सकस छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले हात झिक्दै सरकारको मात्रै भर नपर्न अपिल गरिसकेको छ । यस्तो अवस्थामा ७० प्रतिशत अर्थतन्त्रको भार ओगट्ने निजीक्षेत्र के गरिरहेको छ त ? पछिल्ल‍ो साता निजीक्षेत्रबाट केही प्रशंसनीय काम भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघलगायतका निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाले केही प्रशंसनीय कामको थालनी गरेका छन् । केही उद्योग तथा प्रतिष्ठानहरूले अस्पतालमा सहयोग गरेर जनताको जीवन बचाउन सहयोग गरिरहेका छन् ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले धुलिखेल अस्पताललाई १ करोड ३४ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।उक्त सहयोग रकम आईसीयूका लागि आवश्यक उपकरण, अक्सिजन प्लान्ट र सिलिण्डरको प्रयोजनका लागि खर्च गर्ने प्रतिवद्धता धुलिखेल अस्पतालले गरेको छ । गोल्छा अर्गनाइजेसनले पनि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारका लागि सहयोग उपलब्ध गराएको हो । पाटन अस्पतालले उक्त सहयोग रकमलाई अक्सिजन व्यवस्थापन र उपकरणको अभावलाई पूर्ति गर्न खर्चिने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा निर्माण भएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । महासंघले कोभिड संक्रमितका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा आइसोलेसन सेन्टर निर्माण गरेर सञ्चालनमा ल्याएक‍ो छ । आइसोलेसन सेन्टरमा निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने संक्रमितलाई पौष्टिक आहारका साथै, सेवन गर्ने औषधि र स्वास्थ्य उपचार  निःशुल्क उपलब्ध गराइनेछ । त्यस्तै, महासंघले `एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको थालनी गरेको छ । यो अभियानअन्तर्गत गत शनिबारदेखि हेल्लो डाक्टर कार्यक्रम थालनी गरिएको छ ।‘कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको परामर्श लिन चाहनेलाई पाँच जना डाक्टरमार्फत परामर्श दिइएको महासंघले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराइएक‍ो चेम्बरले जनाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्