यसपाली किस्ता तिर्न बैङ्कहरूले दबाब नदिने

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर ऋण लिएका हुन्छन् । मासिक आम्दानी छ भने खातामा बचत हुन्छ र उनीहरुले त्यहीबाट तिर्नसक्छन्  तर तिर्नै पर्ने ताकेता भन्दा पनि सम्झाउँछौ ।’ नियमित आम्दानी हुनेहरूलाई समयमै तिर्न दाहालले अनुरोध गरेका छन् । यद्यपि यो विषयमा बैंकहरुले औपचारिक निर्णय भने गरिसकेका छैनन् । गत वर्ष नै उच्च प्रभावित, मध्यम प्रभावित र न्युन प्रभावित छुट्याएर राष्ट्र बैङ्कले ऋणीलाई सहुलियत दिएको थियो । यातायात, होटल तथा पर्यटन क्षेत्र जुन उच्च प्रभावित छन तिनीहरुलाई मौद्रिक नीतिमा नै ऋण तिर्न असार मसान्तसम्मको समय दिइएको छ । राष्ट्र बैङ्कका डेपुटी गर्भनर बम बहादुर मिश्र पैसा भए राखिदिएर जरिवाना लाग्ने अवस्थाबाट बच्न आग्रह गर्छन् । उनी भन्छन, हामीले पहिला कोरोनाको समयमै सर्कुलर नै गरेका थियौ । जर्बजस्ती नगर्नु भनेर जारी गरिएको सर्कुलर अहिले पनि लागु हुन्छ । यातायातको साधन निषेधाज्ञाका कारण गुड्न पाएको छैन जसले गर्दा आम्दानी हुन पाएको छैन । यस्तो अवस्थामा राहत दिनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको छ  र सोही व्यवस्थाले अहिले पनि निरन्तरता रहेको डेपुटी गर्भनर मिश्रले बताए । अधिकांश बैङ्कहरुको हरेक महिनाको १० तारिखमा ऋणको किस्ता बुझाउनुपर्ने प्रावधान छ  तर, सबै बैङ्कको एउटै समय भने तोकिएको छैन । बैङ्क नै पिच्छे मासिक किस्ता तिर्ने समय फरक हुन सक्छ । पहिलो लहरको कोरोना महामारीको समयमा पनि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको साँवा तथा ब्याज तिर्ने समयावधि थप गरेको थियो । बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लिएपछि साँवा र ब्याजको मासिक किस्ता बुझाउनु पर्छ । बैङ्क तथा वित्तीय संस्थाहरुले ऋणीले लिएको ऋणको ब्याजदर र ऋण लिएको अवधिलाई आधार बनाएर मासिक किस्ता निर्धारण गर्छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्