अर्थ राजनीति ~ जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले माधव नेपाल समूहको निर्णय बेठीकको समर्थन गरेजस्तै भएको बताएका छन्। केही बेरअघि नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन लागेको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। त्यसैगरी नेपाल समूह सांसदको सामुहिक राजीनामाबाट पनि ब्याक भएको थियो। यसैबारे टिप्पणी गर्दै बाबुरामले यो कायरताको प्रदर्शन भएको बताएका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो। कहिले बेठीकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो । अहिले ओली प्रवृत्ति बेठीक मध्ये बढी बेठीक छ; अत:विरोध गरौं।’
माधव समूहले कायरता प्रदर्शन गरे : डा. भट्टराई
