एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेले संसदीय दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ । आइतबार बिहान बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए । यसअघि आइतबार बिहान पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बसेको संसदीय दलको बैठकले संविधानको १६८ (१) बमोजिम ठूलो दलको हैसियतमा बहुमतको सरकार बनाउने निष्कर्ष निकालेको हो ।बैठकले संसदीय दलको विधामा पनि केही परिमार्जन गर्ने निर्णय गरेको छ । सचेतक ढकालले अब एमालेका ४१ बहुमत सांसदसहितको हस्ताक्षर सरकार गठनका लागि प्रदेश प्रमुखसामु राख्ने र प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बताए । उनले जनता समाजवादी पार्टीबाट यसअघि मन्त्री बनेका सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डे लम्साल, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी पनि एमालेको एकल सरकारमा सहभागी हुने बताए । एमालले बहुमत सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ यादवसामु पेस गरेपछि संविधानको धारा १६८ को उपधारा १ मा व्यवस्था भएअनुसार संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्