यो साता ८७ अंकले घट्यो सेयर बजार

Machchapuchchre

अर्थ राजनीति  ~  यो साता सेयर बजारको परिसूचक नेप्से ८७ अंकले घटेको छ। २०७८ सालमा पहिलो दिन बैशाख २ गते बिहीबार बजारले २७३५ अंकको रेकर्ड बनाएको थियो। जुन हालसम्मकै उच्च हो। त्यही अंकले गत सातालाई विदायी गरेको थियो। ठीक एक सातापछि हिजो बिहीबारसम्म आइपुग्दा बजारको परिसूचक २६४८ अंकमा झरेको छ। यो साता ८७ अंकले बजार घटेपछि कतै बजार अब ओरालो लाग्ने हो कि भन्ने शंका समेत बढाएको छ। ससर्ती यो सातालाई केलाउने हो भने सबै समूहहरु घटेका छन्। साताभर बैंकिङ समूह ८५, विकास बैंक ७७, जलविद्युत २१, जीवन बीमा २१८, निर्जीवन बीमा ४८६, फाइनान्स २४ र अन्य समूह ४१ अंकले घटेका छन्। साताभरजसो ज्योति लाइफ इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो। ज्योति र महिला बजारमा हालै सूचीकृत भएका कम्पनी भएकाले क्रमिक रुपमा मूल्य बढ्दै गएको हो।

यो साता धेरै रकमको सेयर कारोबार हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, नबिल बैंक र एभरेष्ट बैंक अगाडि रहे। कतिपयले बजार अझै केही सातासम्म घट्न सक्ने अनुमान गरेका छन् भने कतिपयको अनुमान बढ्छ भन्ने पनि छ। प्राविधिक रुपमा बजारको विश्लेषण गर्दै आउनेहरुले यो बुलमा बजार ५–६ हजार अंकसम्म पुग्ने दावी गर्दै आएका छन्। त्यस्ता ‘प्राविधिक विज्ञ’बाट भने लगानीकर्ता सतर्क हुनुपर्ने बेला भएको छ। नेप्से उच्च अंकमा रहेका  बेला किन्ने कि बेच्ने धेरैलाई अन्यौलता हुन्छ। बेचौं भने अझै बढ्न सक्छ भन्ने मनोभावना र किनौं भने घट्ला भन्ने मनोभावना विकास हुन्छ। बजार बढेका बेला धेरै लोभ पनि गर्न नहुने र घटेका बेला निराशावादी पनि हुन नहुने सुझाव दिन्छन् अनुभवी लगानीकर्ता तर बजारलाई प्रभाव पार्न सक्ने विषयबस्तुमा भने जानकार भइरहनुपर्छ। अर्कोतर्फ अहिलेको बजारको अंक उच्च नै हो। कतिपय कम्पनीको सेयर अहिले ‘ओभरभ्यालुड’ भएको लगानीकर्ता बताउँछन्। अब सेयर किन्नुअघि धेरै सजगता अपनाउनुपर्ने बेला आएको उनीहरुको सुझाव छ। तसर्थ कम्पनीका बारेमा राम्ररी बुझेर मात्रै लगानी गर्नुपर्ने अवस्था छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्