लगभग सकियो धरहरा पुनःनिर्माण कार्य

Machchapuchchre

अर्थ राजनीति  ~  धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन। अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ। यही वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए। भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ । सम्पदा विज्ञ मानन्धरका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिए। विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए। भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो। गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए।

निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्ररुपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ । धरहरा पुनःनिर्माणका योजना म्यानेजर श्याम श्रेष्ठका अनुसार आफूहरुले प्राधिकरणसँग थप २१ महीनाको समय माग गरेको तर आठ महीना मात्रै थपिएको छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किल रहेको बताइएको छ ।पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ । त्यसमा दुई लिफ्ट पनि छन् । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिने छ । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश रहनेछ । धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्