‘बैंकहरुको प्रगति देखेर राष्ट्र बैंक नै छक्क परेको छ’- डा. शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~  वरिष्ठ अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व बैंकर डा. शंकरप्रसाद शर्माले नेपालका वाणिज्य बैंकहरुलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत बुझ्न नसकेको बताएका छन् । सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष समेत रहिसकेका डा. शर्माले  यस्तो धारणा व्यक्त गरेका हुन् । नेपालमा वाणिज्य बैंकहरु मर्जरको प्रक्रिया तिव्र गतिमा रहेका बेला उनको यस्तो विचार बाहिर आएको हो । हाल ठुला बैंकहरु मर्जर मार्फत झन ठुला बन्ने चरणमा रहेको हुँदा त्यसले पुर्याउन सक्ने नकारात्मक असरको सम्भावना माथीको प्रश्नमा उनले यस्तो गम्भिर विचार व्यक्त गरेका हुन् । शर्माले भने, ‘वाणिज्य बैंकको ग्रोथ यस्तो छ कि त्यो देखेर राष्ट्र बैंक समेत छक्क परेको छ । यो कसरी सम्भव भयो भन्ने न बैंकरले बुझेका छन् न नियामक निकाय राष्ट्र बैंकले नै ठम्याउन सकेको छ ।’ विग मर्जरले सिर्जना गरेको अवस्थालाई मुल्यांकन गर्न र त्यहि अनुरुपको निति निर्माण गर्न हामीसंग अनुभवको समेत अभाव रहेको डा. शर्माले बताए । तुलनात्मक रुपमा नेपाल राष्ट्र बैंकमा क्षमतावान मानिसहरु रहेका भएपनि धेरै कुरा हाम्रो अनुभव र अध्ययन बाहिरका समेत भइरहने तथ्यप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘हो, राष्ट्र बैंकमा धेरै राम्रा र कम्पिटेन्ट मानिसहरु छन्  तर, हामीले थाहा नपाएका धेरै कुरा भित्र भित्रै भइरहेका हुन सक्छन् । जसलाई ठम्याउन सकिएन भने गाह्रो हुन्छ ।’ नेपालका बैंकहरुमा निक्षेपको मात्रा निकै नै बढेको र त्यो नेपालको कुल जीडीपीको हाराहारीको देखिएको तथ्यांक हालै मात्रै सार्वजनिक भएको छ । यदि नेपालको बैंकिङ क्षेत्र अफ्ठ्यारोमा पर्ने हो या त्यसमा थोरै मात्र संंकट आउने हो भने त्यसले पुरै अर्थतन्त्रलाई नै धराशयी बनाउन सक्ने चिन्ता अर्थशास्त्रीहरुले व्यक्त गरिरहेका छन् । यो यथार्थतालाई स्विकार गर्दै नियामक निकाय नेपाल राष्ट्र बैंकले धेरै नै सजकता अपनाउनु पर्नेमा शर्माको जोड छ । बैंकिङ क्षेत्रको यथार्थ अवस्था के हो र त्यहाँ कसरी काम भइरहेको छ भन्ने तथ्य बुझ्न स्वतन्त्र अनुसन्धानकर्ताहरुको भूमिका रहने शर्मा बताउँछन् । यदि राष्ट्र बैंकले विज्ञहरुलाई सो कामको जिम्मेवारी दिने हो भने ठुलो जोखिमलाई समयमै न्युनिकरण गर्न सकिने उनको भनाई छ । शर्मा भन्छन्, ‘स्वतन्त्र विज्ञहरुलाई एक दुई वटा बैंकको अध्ययन मात्रै गर्न दिने हो भने पनि स्थितीको सहि आँकलन गर्न सकिन्छ । के भइरहेको छ थाहा पाउन सकिन्छ । र, यो आवश्यक पनि छ । राष्ट्र बैंकले यो कुरा बुझ्नु पर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्