बैंक भन्छ : तरलता अभाव भए पनि ब्याजदर नबढ्ने

Machchapuchchre

अर्थ राजनीति  ~  बजारमा तरलता सङ्कट देखिनँ थाले पनि बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्ने भएको छ। धेरै बैङ्कले लगानीयोग्य पुँजीको अभाव महसुस गरिरहेका बेला सार्वजनिक गरेको नयाँ ब्याजदरमा समेत वृद्धि गरेका छैनन् । नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट लागू हुने गरी धेरै जसो बैङ्कले ब्याज दर प्रकाशित गरेका छन् तर, उक्त ब्याजदरमा अधिकांशले पुरानै दरलाई निरन्तरता दिएका छन् । केही बैङ्कले भने ब्याजदर सार्वजनिक गर्न अझै बाँकी छ। मङ्गलवार २० वाणिज्य बैङ्कले ब्याजदर प्रकाशित गरेका छन्। नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार यो विषम परिस्थितिमा ब्याज बढायो भने आइरहेको ऋणको किस्ता पनि नआउने डर हुन्छ।  उनले भने, ‘नेपालमा अधिकांश बैङ्कहरूमा व्यवसाय बढाउन प्रेसर छ।  सँगसँगै ऋणीबाट ऋणका किस्ता पनि रोकिने पो हो कि भन्ने चिन्ता पनि छ ।’ उनका अनुसार यही चिन्ताले बैङ्कलाई ब्याजदर वृद्धि गर्नबाट रोकेको हो। त्यसो त तरलता अभावले बैङ्कहरूलाई अप्ठ्यारो नपारेको भने होइन। चैत ३० गते मात्र अन्तर बैङ्क कारोबारमा समेत ४ प्रतिशत ब्याज पुगिसकेको अध्यक्ष दाहाल बताउँछन् । उनले भने, यो चैत मसान्तमा करिब ४० अर्ब रकम वित्तीय क्षेत्रबाट सरकारी ढुकुटीमा जान्छ। यसले पनि बैङ्कहरूमा तरलताको सङ्कट देखिने गरेको छ। जब सरकारले खर्च गर्छ अनि मात्र यो रकम फेरि बैंकिंङ प्रणालीमा आउँछ ।’ निक्षेपमा ब्याज बढाउनु भनेको ऋण लिन आउनेलाई पनि ब्याज बढाउनु हो त्यसैले यो महामारीका बिचमा तरलता अभाव छ भए पनि बैङ्कहरूलाई ब्याजदर वृद्धि गर्न सक्ने अवस्था नरहेको नेपाल बैंकर्स एसोसिएसनकी कार्यसमिति सदस्य तथा मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन्। उनी भन्छिन्, ‘महामारीको असर अब बल्ल देखिन थालेको छ। फेरि दोस्रो लहर सुरु होला जस्तो छ यो बेलामा निक्षेपमा ब्याज बढाएर वित्तीय क्षेत्रमा सङ्कट निम्त्याउन कसैले पनि चाहेनन् । तरलता अभावले समस्या सिर्जना गरिसकेको र सो जुटाउन वैकल्पिक मार्गको खोजीमा बैङ्कहरू लागिसकेको बताउँदै तरलता कमी सबैलाई भइरहेको देखिएको  र मेगा बैङ्कले ४० मिलियन डलर विदेशबाट ल्याएर भए पनि तरलताको अभाग पूर्ति गर्ने कोसिसमा लागेको  उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्