राजनीतिक समस्या छिट्टै समाधान हुन्छ : अर्थमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् । त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्याेल सिर्जना गरेको उल्लेख थियो । कोरोनाभाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्याेललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियाशील रहेको बताए । ‘निरन्तर वृद्धि भइरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले असर गरेको छ’ उनले भने, ‘यो समस्यालाई यहाँहरुको उत्साह र समर्थनबाट नेपाल सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरिरहेको छ ।’ उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।

अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक पुनरुत्थान, पुनर्संरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडि बढ्ने उल्लेख गरे । सरकारले नयाँ बजेटको तयारीमा जुटेको भन्दै उनले अबको बजेट समेत कोरोनाको प्रभाव न्यूनीकरणा केन्द्रित हुने जानकारी गराए । विश्व बैंकले चालु आवमा २.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणसहित नेपाल विकास अपडेट सार्वजनिक गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्