प्रदेश न. १ को मन्त्रिपरिषद विस्तार गरियो

Machchapuchchre

अर्थ राजनीति  ~  प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।साबिकको नेकपामा विवाद हुँदा माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछिन् । एमाले र साबिकको नेकपामा माधवकुमार नेपाल समूहमा रहेका शेरबहादुर तामाङ र उषाकला दम्पती अहिले ओली समूहमा छन् । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बढाइएको छ । एमालेबाट सांसद बनेका उनी माधवकुमार नेपाल समूह निकट थिए तर साबिकको नेकपा विभाजित हुँदा ओली समूहमा लागेका उनले प्रचण्ड-माधव समूहले ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ ।अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घले र नेपाल समूह छाडेर ओलीतिर लागेका मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्