प्रचण्ड भन्छन् : पहिचान र अधिकारको मुद्दा छोडेको छैन

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिचान र अधिकारको मुद्दा नछोडेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताएका हुन् । दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफूले पहल गरेको पनि उनको भनाइ छ । विशेषाधिकारबिना महिला र दलितहरुले वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइन्युटमा नै नोट अफ डिसेन्ट राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भए पनि आफूले मुद्दा छाडेको भनि प्रचार भएको उनको गुनासो थियो । प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पारे । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उनले आरोप लगाए । नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाइ छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसको विरुद्ध आफू बाँचुञ्जेल लड्ने पनि बताए । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्