कांग्रेसभित्र भातृसंस्थाको सांगठनिक संरचना र सैद्धान्तिक विषयमा एकरुपता ल्याउन मापदण्ड तय

Machchapuchchre

काठमाडौँ । नेपाली कांग्रेसले भातृसंस्था एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचना र मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्न विधान निर्माणको मापदण्ड तय गरेको छ । केन्द्रीय कार्यसमितिको १८ भदौमा बसेको बैठकले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा बनाएको ७ सदस्यीय समितिले भातृसंस्था र शुभेच्छुक संस्थाको विधानमा एकरुपता ल्याउन १७ सदस्यीय मापदण्ड तय गरेको हो ।

विधानको प्रस्तावना संस्थाको आधारभूत चरित्र र मुलभूत सिद्धान्त झल्कनेगरी एकरुपता ल्याउने मापदण्ड समितिले बनाएको छ । सदस्यताको प्रकार एउटै बनाउने, मुख्य उद्देश्यमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण र लोकतान्त्रिक समाजवादी सिद्धान्तको कार्यान्वयन/नेपाली कांग्रेसको मजवुतीकरण राख्नैपर्ने व्यवस्था राखिएको छ । स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको जस्तै ७ तह बनाउने, तीन/तीन वर्षमा आवधिक अधिवेशन गर्नै पर्ने व्यवस्था मापदण्डमा रादिएको समिति संयोजक साउदले जानकारी दिए ।

अव भातृसंस्था र शुभेच्छुक संस्था सबैका समितिमा पदाधिकारीको एउटै हुन्छ । केन्द्रीय कार्यसमिति र अन्य समितिहरु भने सदस्य संख्याका आधारमा धेरै थोरै हुनेछ । कुनै पनि संस्थाले नेतृत्वविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नु पर्ने भएमा त्यसको व्यहोरा एउटै हुनेछ । त्यस्तै आर्थिक स्रोत व्यवस्थापन, पदको रिक्तता र पदपूर्तिको प्रक्रिया, संक्रमणकालीन व्यवस्था र अनुसूची एउटै राख्नु पर्ने आधार बनाइएको साउदले बताए । त्यस्तै अध्यक्ष, पदाधिकारी र सदस्यको काम कर्तव्य र अधिकारको विषयमा एकरुपता ल्याउने गरी मापदण्ड तय भएको छ ।

पार्टी केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, इश्वरी न्यौपाने, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समितिले त्यही मापदण्डका आधारमा पार्टीका भातृसंस्था दलित संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, नेपाल सांस्कृतिक महासंघ र नेपाल महिला संघको विधान पनि सरोकारवाला संघसँगको समन्वयमा निर्माण गरेको छ । यी विधान बिहीबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने सदस्य भट्टराईले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्