विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय

Machchapuchchre

काठमाडौं। न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्ति सिफारिसमा पदमप्रसाद वैदिकको विकल्प खोज्ने भएको छ। बुधबार बसेको परिषद् बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा कसैको पनि नाम सिफारिस गर्न सकेन। यसअघि बसेको बैठकले परिषद्कै सदस्य वैदिकलाई न्यायाधीशमा सिफारिस गर्ने प्रस्तावमा विरोध भएपछि निर्णय रोकिएको थियो।

न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी बोकेको न्यायपरिषद्का सदस्य वैदिकले सर्वोच्चमा रिक्त न्यायाधीशमा जाने प्रस्तावपछि बुधबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए। राजीनामा बुझाएका उनलाई न्यायाधीश नियुक्तिको सिफारिस गर्न बिहीबार बसेको न्यायपरिषद् बैठकले निर्णय रोकेको थियो। उनले राजीनामा दिएपछि न्यायाधीश बनाउन लागिएको भन्दै नेपाल बार एसोसिएनले विरोध जनाएको थियो।

बारको ४६औं कार्यकारिणी परिषद् बैठकलाई बुटवलमा सम्बोधन गर्दे मंगलबार प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्रशमशेर जबराले बारको भावनाविपरीत न्यायाधीश नियुक्ति नगर्ने बताएका थिए। त्यसको भोलिपल्ट बुधबारको बैठकले वैदिकलाई न्यायाधीश नियुक्ति सिफारिसको निर्णय रोकेको छ।

परिषद्ले वैदिक अध्यक्ष रहेको एक छानबिन समितिको अध्यक्षमा परिषद्का सदस्य रामप्रसाद सिटौलालाई जिम्मा दिएको छ। जिल्ला न्यायाधीश अर्जुन कोइरालाले गरेको एक हाउजिङ मुद्दामा मिलापत्र गरेको उजुरी परेपछि छानबिन गर्ने निर्णय भएको थियो। छानबिनका लागि वैदिकको अध्यक्षतामा उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहितको तीन सदस्यीय समिति बनाइएको थियो।

त्यसैगरी पुनःनिर्माण प्राधिकरणको गुनासो सुन्ने र चित्त नबुझेपछि पुनरावेदन गर्ने समितिमा न्यायाधीश अध्यक्ष रहने व्यवस्था छ। प्राधिकरणको उजुरी पुनरावेदन समितिको अध्यक्ष उच्च अदालत पाटनका न्यायाधीश प्रभा बस्नेतलाई अध्यक्ष बनाउने निर्णय वैठकले गरेको छ। त्यसैगरी, न्याय सेवा आयोगको बुधबारै बसेको वैठकले न्याय सेवा आयोगका सहसचिव, उपसचिवको बढुवा गर्ने निर्णय गरेको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्