कोरोना खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाईने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले पहिलो चरणमा कोभिड-१९ विरूद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज  आयोजना गरेको ‘कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए। माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो। पहिलो चरणको खोप अभियान अन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिसिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने छ। सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए। उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाइएको छ। यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेको मध्ये १० लाख आइसकेको छ। सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने छ।  मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले कोभ्याक्स संयन्त्र मार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए। उनले खोपबारे बुझाउन नसक्दा सुरूमा खोप लगाउन मानिस हिच्किचाएको समेत बताए। विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेसनल प्रोफेसनल अफिसर डा. राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए। उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्