राष्ट्र बैंकको डेपुटी गभर्नरका दुई पद रिक्त : नयाँ को को आउलान् त ?

RBB

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । अघिल्लो पटक ढिला गरी नियुक्ति गरिए पनि अहिले भने राजनीतिक उतारचढावका कारण यही साता नै नियुक्ति हुन सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १६ अनुसार राष्ट्र बैंकका गभर्नरको सिफारिसमा डेपुटी गभर्नर मन्त्रिपरिषद्‍ बैठकले  नियुक्ति गर्नुपर्ने हुन्छ । गभर्नरले सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) मध्ये आवश्यक परेको दोब्बर संख्यामा सिफारिस गर्नुपर्ने हुन्छ । यस आधारमा राष्ट्र बैंकका गभर्नरले कम्तीमा चार जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकमा अहिले १७ जना कार्यकारी निर्देशक छन् । १७ मध्येबाट कम्तीमा चार जनाको नाम गभर्नरले सिफारिस गर्नुपर्ने हुन्छ । निवर्तमान गभर्नर चिरञ्जीवी नेपालकाे सिफारिसमा नियुक्त भएका डेपुटी गभर्नर मध्ये श्रेष्ठ कांग्रेस र सिवाकोटी एमालेको कोटाबाट परेका थिए । अहिले पनि कांग्रेस र नेकपा कोटाबाट नै नियुक्ति गरिने सम्भावना देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्