एक साता ‌ओरालो लागेको सेयर बजार आज बल्ल हरियो देखियो

Machchapuchchre

अर्थ राजनीति  ~  फागुन १० यता लगातार ‌ओरालो लागेको सेयर बजार एक सातापछि हरियो देखिएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखियो । सोही अफवाहले १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो । त्यसअघि करिब एक साता बजार लगातार उकालो लागेकाले सूचकले तीन हजारको आँकडा छुने अनुमान सेयर बजारका जानकारहरुले विश्लेषण गरेका थिए । एक साता अघिबाट बजार घट्न थाल्नुपहिले बजार परिसूचक नेप्से २६४० विन्दुसम्म उक्लिएको थियो तर अघिल्लो हप्ताको सोमबारबाट ओरालो लाग्न थालेपछि यो २४७४ को विन्दुसम्म आएको हो । उक्त विन्दुबाट आज सोमबार पुनः बजार उकालो लाग्ने संकेत देखिएको छ । यस्तै, १३ समूहहरुमध्ये म्युचुअल फन्डबाहेक सबैको उपसूचक हरियो बनेकाले पनि बजार फेरि साता दिनअघिको लयमा फर्किने विश्वास लगानी कर्ताहरुले गरेका छन् । चन्द्रागिरी हिल्सको आजपनि कारोबार मूल्यमा १० प्रतिशत (४१ रुपैयाँ) ले बढेर सर्किट ब्रेकर लाग्दै प्रतिकित्ता मूल्य ४५५ रुपैयाँ पुगेको छ । सारथी नेपाल लघुवित्त, आरएसडीसी लघुवित्त, नेपाल हाइड्रो डेभलपर, समृद्धि फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य पनि बढेको छ । सिटिजन्स म्युचुअल फन्ड २, सनराइज फर्स्ट म्युचुअल फन्ड, सानिमा लार्ज क्याप फन्ड, नबिल इक्विटी फन्ड लगायताका सामुहिक लगानी योजनाहरुको मूल्य क्रमशः सबैभन्दा धेरैले घटेको छ । आज  सबैभन्दा धेरै रकमको किनबेच हुने सेयरमा निफ्रा, शिखर इन्स्योरेन्स, नेपाल बैंक, ग्लोबल आइएमई, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्