चेक बाउन्सका घटना पनि बैंकिङ कसुर, ४ गुणा बढ्यो अपराध

Machchapuchchre

काठमाडौँ । गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुद्दा दर्ता संख्या चार गुणाभन्दा धेरैले बढेको हो । कान्तिपुर दैनिकले समाचार लेखेको छ । यो आर्थिक वर्ष ०७५/७६ मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो ।

आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर बैंकिङ कसुरका ७ सय ७६ मुद्दा मात्र दर्ता भएका थिए । वित्तीय क्षेत्रको व्यावसायिक विस्तारसँगै सञ्चालन जोखिम बढेको र यसले बैंकिङ कसुरका घटना पनि बढेको बताइएको छ । उल्लिखित तथ्यांकका आधारमा दैनिक दैनिक औसत ८ वटाभन्दा बढी मुद्दा दर्ता भएको देखिन्छ ।

पछिल्ला महिनामा बैंकिङ क्षेत्रमा घटेका चोरीका घटनामध्ये धेरै सञ्चालन जोखिमसँगै सम्बन्धित छन् । जनता बैंक र मुक्तिनाथ विकास बैंकबाट नक्कली हस्ताक्षर गरी रकम निकालिएको छ । सोही समूहबाट प्रहरीले ज्योति विकास बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्र्रे, एभरेस्ट बैंकको चेक बुक, एटीएम कार्डसहित ठूलो संख्यामा ग्राहकका नागरिकताको फोटोकपी र फोटो पनि बरामद गरेको छ । नक्कली हस्ताक्षरमार्फत गिरोहले माथि उल्लिखितसहित १९ बैंकबाट रकम चोरीको प्रयास गरेको प्रहरीको दाबी छ । ‘बाँकी बैंकको हकमा अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो ।

करिब तीन महिनाअघि नेपाल बैंकका वरिष्ठ प्रबन्धकले करिब ६० लाख रुपैयाँ हिनामिना गरेका छन् । बैंकले यो मुद्दा प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले अभियुक्तको खोजी गरिरहेको छ । कृषि विकास बैंकमा पनि यस्तै घटना भएको छ । शाखा प्रबन्धक आफैंले रकम हिनामिना गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्