Artharajniti ~ वाणिज्य बैंकहरूको सेयरधनीको पूँजीमा प्रतिफल (आरओई) २ प्रतिशत विन्दुले बढेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको ब्याज आम्दानीसँगै गैरब्याज आम्दानीमा सुधार आएपछि आरओईमा सुधार आएको हो । चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत आरओई ९.१३९ प्रतिशत पुगेको छ । गत आव सोही अवधिमा ७.०४३ प्रतिशत थियो । गत आव बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले कति नाफा कमायो भनेर मापन गर्ने सूचक हो । बैंकहरूको इक्विटीमा प्रतिफल घटेपछि लगानीकर्ताले बैंकबाट लगानी स्थानान्तरण गर्नसमेत खोजेका थिए । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले सेयर बिक्री गर्न सहज छैन । त्यसैले संस्थापकहरूले बैंक तथा वित्तीय संस्थाको लगानी झिक्न पाउनुपर्ने माग गर्दै आएका छन् । लगानीमा न्यून प्रतिफल भएका कारण बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दा प्रतिफल पनि छैन र बिक्री गरेर निस्कन पनि नपाइने भन्दै गुनासो गर्दै आएका छन् । समय–समयमा संस्थाहरूले साधारण सेयर निष्कासन गरेको १० वर्षपछि संस्थापकले सेयर बिक्री गर्न पाउने व्यवस्था गर्न मागसमेत गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाबाट बाहिरिन खोज्नुको मुख्य कारण पनि घट्दो आरओई नै हो ।
बैंकहरूको चालु आव पहिलो त्रैमासमा आरओईमा सुधार आएको देखिए पनि सञ्चित नाफाको अवस्था कमजोर भएकाले लाभांश दिन सक्ने क्षमता नहुन पनि सक्छ । चालु आव सोही अवधिमा ६ बैंकको सञ्चित नाफा ऋणात्मक भएकाले सेयरधनीलाई लाभांश नदिने पक्का जस्तै भएको हो ।सञ्चित नाफा नकारात्मक रहने बैंकमा नेपाल इन्भेस्टमेन्ट, प्रभु, हिमालयन, एनआईसी एसिया र सिटिजन्स छन् । त्यसैगरी माछापुच्छ्रे, नेपाल बैंक र कुमारीको सञ्चित नाफा सकारात्मक भए पनि वितरणयोग्य नाफा ऋणात्मक छ । सञ्चित नाफा र वितरणयोग्य नाफाको अवस्था हेर्दा उल्लेखित बैंकहरूले चालु आव सेयरधनीलाई लाभांश दिन सक्ने सम्भावना कम छ । वाणिज्य बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्दा इक्विटीमा प्रतिफल अर्थात् सेयरधनीको पूँजीमा प्रतिफल बढेको देखिए पनि त्यसैका आधारमा लगानीकर्ताले उच्च लाभांश पाउँछन् भन्ने निश्चित नहुने पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीले बताए ।



