Artharajnti ~ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन् । बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसदमा जाने भएका हुन् । यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद सचिवलायमा बुझाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रधानमन्त्रीको रिपोर्ट सचिवालयमा प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘योभन्दा अगाडिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बस्दा कालो चस्माको प्रयोग नगर्ने भन्ने निर्णय गरेको थियो । यदि प्रयोग गर्नुपरेमा प्रयोग गर्नुपर्ने कारण अथवा मेडिकल रिपोर्टसहितको पत्र आवश्यक पर्ने भन्ने थियो । कालो चस्मा प्रयोग गर्न आवश्यक छ भनेर प्रधानमन्त्रीज्यूको रिपोर्ट पहिले नै प्राप्त भइरहेको छ,’ उनले भने । उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा २२ साउनमा आँखा परीक्षण गराएका थिए । उनको आँखा लेफ्टिनेट कर्णेल डा. सचित ढकालले परीक्षण गरेका थिए ।
प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै संसद बैठकमा जाने



