Artharajniti ~ सरकारका पछिल्लो आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २२ खर्ब पुगेको छ ।शोधानान्तर स्थिति झन्डै २ खर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले उकालो लागेको छ । तर अधिकांश आन्तरिक सूचक भने सकारात्मक छैनन् । बैंकमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन । नयाँ उद्योग, व्यवसाय खोल्ने र लगानी गर्नेहरू छैनन् भन्दा फरक पर्दैन । यसको मतलब निजी क्षेत्रमा आत्मविश्वास छैन । नयाँ कर्जाको माग नहुनु र बैंकिङ प्रणालीमा रकम थुप्रिनु अर्थतन्त्रको स्वास्थ्यका लागि राम्रो होइन । व्यवसायीहरू कोरोना महामारीयता समस्यामा देखिएको अर्थतन्त्रमा हालसम्म पनि उत्साह देखिन नसकेको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल निजी क्षेत्र नफस्टाइकन अर्थतन्त्र चलायमान हुन नसक्ने बताउँछन् । ‘निजी क्षेत्रको गतिविधि नबढ्दा सबै क्षेत्र प्रभावित भएका छन् । राजस्व पनि खुम्चिएको छ,’ उनी भन्छन्, ‘यसको मुख्य कारण बजारमा माग छैन । माग नभएका कारण उद्योगी व्यवसायीहरू लगानी गर्न डराएका छन् ।’ बजारको कुनै पनि क्षेत्रमा उत्साह नभएको उनको भनाइ छ । पछिल्ला केही वर्षदेखि समग्रमै बजार माग घटेको व्यवसायीहरू बताउँछन् । विकास निर्माणका गतिविधि सुस्त छन् । घरजग्गा कारोबार छैन । महँगी बढेको छ । सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न सकेको छैन । भइरहेका विकास निर्माण पनि निकै सुस्त गतिमा अगाडि बढेका छन् ।
विकास निर्माण सुस्त भएकाले सिमेन्ट, छड, इँटालगायत वस्तुको उत्पादन घटेको छ । भर्खरै व्यवसायीहरूले सिमेन्टको मूल्य प्रतिबोरा कम्तीमा १०० रुपैयाँ बढाएका छन् । व्यवसायीहरू अन्य मात्रै नभए उपभोग्य वस्तुको माग समेत घटेको बताउँछन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल आम उपभोक्ताहरू खर्च गर्न नै डराइरहेको बताउँछन् । उनले भने, ‘बजारमा माग छैन भने हामीले उत्पादन मात्र गरेर कहाँ हुन्छ रु खपत बढेपछि यो उत्पादन बढाउन सकिन्छ र मूल्य पनि प्रतिस्पर्धी हुन्छ ।’ पछिल्ला केही वर्षमा उपभोग्य सामग्रीको माग समेत घटेको अग्रवालको भनाइ छ । उनी भन्छन्, ‘अन्य वस्तुमात्रै होइन, दैनिक रूपमा उपभोग हुने सामग्रीको समेत बजार खुम्चिएको छ ।’अग्रवालको भनाइमा सरकारी नीतिका साथै युवाको विदेश पलायन र भन्सारको चोरीनिकासीले पनि आन्तरिक बजारमा प्रभाव पारेको छ । चोरी निकासी गरेर सामग्री भित्र्याउँदा सरकारले आम्दानी मात्रै गुमाएको छैन, व्यापार व्यवसायमा पनि असर गरेको छ । बजार माग नहुनुको अर्को पक्ष उपभोक्ताको क्रयशक्तिमा आएको कमी पनि हो । आयमा कमी आएपछि त्यसको प्रत्यक्ष असर मागमा परेको जानकारहरू बताउँछन् ।