असारका लागि वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर

Machchapuchchre

Artharajniti  ~   आगामी असारको लागि बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएर सूचना सार्वजनिक गरेका छन्। जेठको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याजदर दिइरहेकोमा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असारको लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.८८ प्रतिशत छ। तीन बैंकले भने ब्याजदर बढाएका छन्। माछापुच्छ्रे बैंक, नबिल बैंक र हिमालयन बैंकको ब्याजदर सामान्य बढेको हो। अहिले सबभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याज दर दिने भएको हो। आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारी खर्चमा वृद्धि हुने भएको र हालसम्म पनि कर्जा लगानीमा सुधार नदेखिएकोले धेरै बैंकले ब्याजदर सामान्य घटाएका हुन्। वार्षिक वासलातमा राम्रो अवस्था देखाउन कर्जा लगानीभन्दा ऋण असुलीमै बैंकहरूको ध्याउन हुन्छ। पछिल्लो पाँच वर्षको जेठ र असारको निक्षेप हेर्दा असारमा निक्षेप अघिल्लो महिनाभन्दा औसत ४.७९ प्रतिशतको दरमा बढ्ने गरेको छ। पाँच वर्षको तथ्यांक हेर्दा यो अवधिमा बैंकहरूमा निक्षेप एक खर्ब २० अर्बदेखि दुई खर्ब २२ अर्ब रूपैयाँसम्म वृद्धि हुने गरेको छ। बैंकहरूले असारमा साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म दिने भएका छन्। बैंक अनुसार यस्ताे न्यूनतम दर ३ प्रतिशत, ३.०५ प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म छ। बैंकहरूले अहिले कर्जा लगानी नभएको कारण राष्ट्र बैंकमा राख्ने रकममा समेत ३ प्रतिशत ब्याजदर नै पाइरहेका छन्। यसले बैंकहरूले सर्वसाधारणबाट जतिमा रकम उठाइरहेका छन्, त्यही दरमा लगेर राष्ट्र बैंकमा राखेको देखिन्छ। पछिल्लो समय कर्जा लगानी विस्तार हुन नसकेपछि बैंकहरूले राष्ट्र बैंकमा रकम राख्दै आएका छन्। बैंकहरूले विभिन्न उपकरणमार्फत् बढी भएको रकम राष्ट्र बैंकका राख्छन्। यसमध्ये एक हो, स्थायी निक्षेप सुविधा। यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन्। गत फागुन २ गतेबाट प्रयोगमा ल्याइएको यो उपकरणमा बैंकहरूले हालसम्म पटक-पटक गरेर १६ खर्ब २० अर्ब रूपैयाँ राखेका छन्। पाँच दिनको लागि निक्षेप राखिन्छ। पछिल्लो पटक जेठ २७ गते बैंकहरूले १४ अर्ब ७० करोड रूपैयाँ राखेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्