मर्जरमा गएका बैंकमा खराब ऋणको भारी बढी, मर्जरपछि लागत बढ्यो, प्रतिफल घट्यो

Machchapuchchre

Artharajniti  ~   हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बढ्दो खराब ऋण, बिग्रँदो वासलात देखेर चिन्तित छन्। चालु वर्षको पुस मसान्तमा हिमालयन बैंकको खराब ऋण ४.९५ प्रतिशत पुगेको छ। ऋण डुब्न थालेपछि करिब दुई अर्ब रुपैयाँ त नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु परेको छ। खुद नाफा एक अर्ब नाघेको छ तर वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड रुपैयाँ ऋणात्मक छ। हिमालयन बैंकले २०७९ फागुन १२ गते सिभिल बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेपछि हिसाबकिताब गोलमाल हुन थालेको भन्ने उनलाई लाग्छ। सिभिललाई गाभेपछि निक्षेप र ऋणको आकार त बढ्यो तर त्यसले सकारात्मक ‘सिनर्जी’ भने दिएको देखिँदैन। ‘कति ऋण धितोले नधान्ने पनि रहेछ। आकार मात्र ठूलो, ‘निक्षेप पनि लामो अवधिका लागि महँगोमा उठाएका कारण तत्कालै घटाउन सक्ने अवस्था छैन।’ हिमालयन बैंकको आधार दर १०.५९ प्रतिशत छ, जुन वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा उच्च हो। मर्जरअघि हिमालयन बैंकको निक्षेप एक खर्ब ७६ अर्ब २५ करोड र ऋण एक खर्ब ६१ अर्ब  २७ करोड रुपैयाँ थियो। सिभिलको निक्षेप ९४ अर्ब ७१ करोड र ऋण ८८ अर्ब ५६ करोड रुपैयाँ थियो। दुई बैंक मर्ज हुँदा निक्षेप र ऋणको आकार बढ्यो तर गुणस्तर खस्किएको उनको बुझाइ छ। गत वर्षको नाफाबाट यसपालि बैंकले लगानीकर्तालाई लाभांशसमेत दिन सकेन। बैंकले पोहोर ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरेर १९.११ प्रतिशत लाभांश दिएको थियो। नेपाल राष्ट्र बैंकले १४ वर्षअघि मर्जर तथा प्राप्तिलाई प्रमुख एजेण्डा बनाएपछि यसले गति लिन थालेको थियो। ३२ वटा पुगेको बैंकको संख्या डा. युवराज खतिवडा गभर्नर हुँदा २९ वटामा झर्‍यो। डा. चिरञ्जीवी नेपालको पालामा २७ वटामा समेटियो। महाप्रसाद अधिकारी गभर्नर भएपछि यसले थप गति लियो- अहिले संख्या २० मा झरेको छ। गत आर्थिक वर्ष मात्र १२ वटा बैंक गाभिएर ६ वटामा सिमित भएका थिए। त्यसअघिको वर्ष नबिलले नेपाल बंगलादेश बैंक गाभेको थियो। आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुकेको असर सबै बैंक तथा वित्तीय संस्थामा परेको छ- तर मर्जर भएका संस्थामा त्यसको असर दोब्बर देखिएको छ। कमजोर संस्थाहरु ठूलोमा मर्ज हुँदा समग्र वित्तीय अवस्थामा असर परेको बैंकरहरु बताउँछन्।‘मर्जरपछि नयाँ व्यापार व्यवसायतिर ध्यान दिनै पाएको छैन। धेरै ऋणमा समस्या छ। त्यसलाई मिलाउँदा मिलाउँदै समय गइरहेको छ,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन भन्छन्, ‘सबै ध्यान रिकभरीमा मात्र छ।’ प्रभु बैंकले २०७९ पुस २६ गते सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर एकीकृत कारोबार थालेको हो। सेञ्चुरी बैंकको पुँजीले नयाँ व्यापार बढाउन काम लाग्छ भन्ने लोभ प्रभु पक्षलाई थियो। तर, सेञ्चुरीसँगै यति धेरै खराब ऋण आयो कि उसको पुँजीले मात्र नपुगेर प्रभुको पुँजीसमेत प्रयोग गर्नु पर्‍यो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्