मन्दीको असर बैंकको वासलातमा, घट्न थाल्यो बैंकको नाफा

Machchapuchchre

Artharajniti  ~  बजारको चरम आर्थिक मन्दीको असर बैंकहरुको वासलातमा देखिएको छ। बैंकहरुले असोज मसान्तसम्मको विवरण सार्वजनिक गर्दा एउटा बैंक घाटामै गएको छ भने १२ वटाको नाफा घटेको छ। कृषि विकास बैंक ठूलो नोक्सानीमा गएको छ। सरकारी स्वामित्वका अन्य दुई बैंकको नाफा पनि घटेको छ। बजारमा माग छैन। माग नहुँदा अर्थतन्त्र मन्दीमा गएको छ। त्यही बेला नियमनका नाममा राष्ट्र बैंकले आम्दानी घटाउने औजारहरु प्रयोग गरिदिएको छ। उद्योगधन्दादेखि सामान्य पसलहरु समेत नचल्दा बैंकहरु आम्दानी गुमाउन बाध्य भएका हुन्। सरकारी स्वामित्वको कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा गएको छ। जबकि पोहोर असोजमा बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो। नाफा घट्नेमा सिद्धार्थ बैंक एक नम्बरमा छ। बैंकको नाफा ९१.४० प्रतिशतले घटेको छ। लक्ष्मी सनराइजको ७९.५३ प्रतिशत, नेपाल बैंकको ७६.४३ प्रतिशतले घटेको छ। कुमारी बैंकको साढे ७३ प्रतिशत, एनआइसी एसियाको ४२.४९ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ३१ प्रतिशतले घटेको छ। नेपाल एसबीआई बैंकको २३.६२ प्रतिशतका साथै सिटिजन्स बैंकको १९.७ प्रतिशतले नाफा घटेको छ। सानिमा बैंकको १२ प्रतिशतले घटेको छ भने एभरेष्टको साढे ९ र नबिलको साढे ६ प्रतिशतले घटेको छ। बाँकी बैंकको नाफा भने बढेको छ। नाफा बढ्नेमध्ये स्ट्यान्डर्ड चार्टर्डको २ प्रतिशत, ग्लोबल आइएमईको ३ प्रतिशत र एनएमबि बैंकको साढे ६ प्रतिशत छ। उच्च नाफा हिमालयन बैंकको छ। बैंकको नाफा ९८ प्रतिशत, प्रभुको ४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ३३ प्रतिशत, प्राइमको ३२ प्रतिशत र माछापुच्छ्रे बैंकको २० प्रतिशतले नाफा बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्