शेखर : सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?

Machchapuchchre Bank

Artharajnii  ~  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति र महामन्त्रीहरू दुई ध्रुवमा बाँडिएकाले पार्टी सञ्चालनमा समस्या भएको बताएका छन्। बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आएको बताएका हुन्। ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ। सभापति र महामन्त्री यसरी बाँडिँदा पार्टी कसरी चल्छ,’ कोइरालाले भने,‘हामीले यसबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ।’ सभापतीय प्रणाली हो भने त्यही हिसाबले हिँड्नु पर्ने र नभए कुनै उपाय खोज्नुपर्ने उनको भनाइ छ। ‘विपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो। अहिले बहुपदीय छ, म बहुपदीयलाई खराब भन्दिनँ। तर यसले पनि हामीलाई बिगारिराखेको छ,’ कोइरालाले भने। कांग्रेसको गत महाधिवेशनमा शेखरलाई हराएर शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। एक महामन्त्रीमा शेखर प्यानलका गगन थापा निर्वाचित भएका थिए भने अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका थिए। सभापति देउवाको प्यानलका दुबै महामन्त्री उम्मेदवार पराजित भएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्