राष्ट्र बैंकले घटायो २५ लाखसम्मको अटो कर्जाको जोखिम भार

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा कायम हुने जोखिम भार घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आइतबार हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकार भट्टले यसअघि अटो कर्जामा लाग्दै आएको १५० प्रतिशत जोखिम भार घटाइएको बताए। उनले २५ लाखसम्मको अटो कर्जामा अबदेखि १०० प्रतिशत मात्र जोखिभार लाग्ने बताए। तर २५ लाखभन्दा माथिको अटो कर्जामा भने १५० प्रतिशत नै जोखिमभार कायम हुने उनको भनाइ छ। कुनै समय अटो कर्जाको जोखिम भार ७५ प्रतिशत मात्र पनि थियो। उक्त जोखिम भारलाई राष्ट्र बैंकले १५० प्रतिशत पुर्‍याएको थियो। त्यसपछि गाडी खरिद गर्न लिइने कर्जामा धेरै जोखिम भार वहन गर्नु परेको भन्दै बैंकहरुले कर्जा प्रवाह गर्न सकिरहेका थिएनन्। अब भने हायर पर्चेज कर्जाको जोखिम भार घट्दा बैंकको लोनएबल रकम बढ्नेछ। यसले ५० लाखसम्मका गाडी फाइनान्सिङ गर्न पहिलेको भन्दा सहज हुनेछ।कार्यकारी निर्देशक भट्टले राष्ट्र बैंकले अटो व्यवसायीलाई केही राहत दिन खोजेको बताए। २५ लाखसम्मको अटो कर्जा बढ्ने र गाडी बिक्रेतालाई यसले फाइनान्सिङको लागि सहज वातावरण सिर्जना हुने उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्