” बैंकको ब्याजदर कम हुँदै छ “: गभर्नर अधिकारी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथिको दबाब विस्तारै कम हुँदै गएको बताएका छन् । केन्द्रीय बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंकिङ प्रणाली सुदृढ रहेको तर्क पनि गरे । पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा बैंकहरूमाथि निरन्तर दबाब पर्दै आएको छ । साथै उच्च ब्याजदरका कारण निजी क्षेत्र बैंकप्रति आक्रामक हुँदै गएको छ । यद्यपि, गभर्नर अधिकारीले भने बैंकिङ क्षेत्र बलियो रहेको बताए । गभर्नर अधिकारीले कर्जा असुलीमा केही दबाब परेको भए पनि बैंकिङ प्रणाली सुरक्षित रहेको बताए । पछिल्लो समय कर्जा असुलीमा दबाब परेको उल्लेख गर्दै उनले खराब कर्जा, ऋण असुलीलगायत सूचक हेर्दा बैंकिङ प्रणाली सुदृढ अवस्थामा रहेको स्पष्ट पारे । गभर्नर अधिकारीले पछिल्लो समय वित्तीय पहुँच विस्तारमा पनि व्यापक सुधार आएको बताए । तरलताको अवस्थामा क्रमिक सुधार हुँदै आएको उनको भनाइ छ । “शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा पछिल्ला महिनामा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा पनि सुधार आएको छ,” गभर्नर अधिकारीले भने । उनले तरलता व्यवस्थापनलाई सुदृढ गर्दै ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेपछि अन्तरबैंक दर ८.५ प्रतिशतबाट घटेर ७ प्रतिशतमा आएको उल्लेख गरे । ब्याजदरमा देखिएको वृद्धिको फलस्वरूप कर्जाको मागमा समेत कमी आएको गभर्नर अधिकारीले बताए । उनले सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नाले समष्टिगत माग कमजोर रही आर्थिक गतिविधिमा भने केही शिथिलता आएको उल्लेख गरे । यस वर्ष बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिमा उल्लेख्य प्रगति भएको गभर्नर अधिकारीले बताए । विगत एक वर्षको अवधिमा वाणिज्य बैंकहरू मर्जर तथा प्राप्तिमा संलग्न भई वाणिज्य बैंकको संख्या २७ बाट २१ मा झरेको छ । नेपाली अर्थतन्त्र आयात र रेमिटेन्समा निर्भर रहेकाले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको गभर्नरको भनाइ छ । कार्यक्रममा कर्मचारी संगठनका प्रतिनिधिहरूले पछिल्लो समय बैंकिङ प्रणाली र राष्ट्र बैंकमाथि पटक पटक प्रहार हुँदा सञ्चालक समितिले मौनता साँधेको आरोप लगाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्