अर्थ राजनीति ~ स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्ने प्रयासमा लागेका छन् । त्यसक्रममा शीर्ष नेताहरु आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिदै त्यसबाहेक अन्य जिल्लामा हुने चुनावी सभा र कार्यकर्ता भेटघाटमा जुट्ने भएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा, एमाले अध्यक्ष केपी शर्मा ओली झापा, माओवादी केन्द्रका अध्यक्ष प्रदेश २ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । यसक्रममा देउवा मंगलबार दिनभर आफ्नो गृहजिल्लामा डडेलधुरामा आयोजना गरिएका चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त हुँदैछन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा आजको सभा सकेर गृहजिल्लामै बस्ने र बैशाख ३० को मतदान पछि मात्रै काठमाडौ फर्कनेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ र झापामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । सोमबार साँझ झापा पुगेका ओली आफ्नो चुनावी क्षेत्रका विभिन्न पालिकामा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार झापाको कार्यक्रम सकेर ओली दिउँसो चार बजेभित्र काठमाडौ आइपुग्नेछन् । काठमाडौको भृकुटीमण्डपमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट सर्लाही, ललितपुर र काठमाडौमा हुने सभालाई सम्बोधन गर्दैछन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रदेश २ का ५ वटा जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशका जिल्ला तहका कार्यक्रममा सहभागी हुने भएका छन्। यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।