चुनाव प्रचार प्रसारको अन्तिम दिन : प्रमुख दलका शीर्ष नेता गृहजिल्ला केन्द्रीत

Machchapuchchre

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन  भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्ने प्रयासमा लागेका छन् । त्यसक्रममा शीर्ष नेताहरु आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिदै त्यसबाहेक अन्य जिल्लामा हुने चुनावी सभा र कार्यकर्ता भेटघाटमा जुट्ने भएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा, एमाले अध्यक्ष केपी शर्मा ओली झापा, माओवादी केन्द्रका अध्यक्ष प्रदेश २ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । यसक्रममा देउवा मंगलबार दिनभर आफ्नो गृहजिल्लामा डडेलधुरामा आयोजना गरिएका चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त हुँदैछन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा आजको सभा सकेर गृहजिल्लामै बस्ने र बैशाख ३० को मतदान पछि मात्रै काठमाडौ फर्कनेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ र झापामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । सोमबार साँझ झापा पुगेका ओली आफ्नो चुनावी क्षेत्रका विभिन्न पालिकामा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार झापाको कार्यक्रम सकेर ओली दिउँसो चार बजेभित्र काठमाडौ आइपुग्नेछन् । काठमाडौको भृकुटीमण्डपमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट सर्लाही, ललितपुर र काठमाडौमा हुने सभालाई सम्बोधन गर्दैछन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रदेश २ का ५ वटा जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशका जिल्ला तहका कार्यक्रममा सहभागी हुने भएका छन्। यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्