अर्थ राजनीति ~ भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा कैलालीका दिनेश खड्का विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो । यो मुद्दामा कैलाली लम्कीचुहा–१० स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र साथी अनिता धिताल समेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसाको आदानप्रदान गरेको उल्लेख गरिएको छ । ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट खड्काले अस्वाभाविक रुपमा डलरको कारोबार गरिरहेका थिए । यो सूचना राष्ट्र बैंक हुँदै राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । यो प्रतिनिधि घटना मात्र भएको र भित्र यस्ता धेरै घटना हुनसक्ने राष्ट्र बैंकको अनुमान छ । यस्ता गतिविधिले अर्थतन्त्रमा नै चुनौती दिइरहेको राष्ट्र बैंकको विश्लेषण छ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भर्चुअल मुद्राको कारोबार जुवाभन्दा पनि खतरनाक रहेको बताउँछन् । यसमा अहिले धेरै सरकारी कर्मचारी पनि संलग्न रहेको उनको दावी छ । यस्ता गतिविधिले पूँजी पलायन बढाउने उनले बताए । विशिष्ट तहमा काम गरेर अवकाश लिएकाहरुले समेत भर्चुअल मुद्राको कारोबारलाई राम्रो आम्दानीको स्रोत बनाएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट पछिल्ला दिनमा भर्चुअल मुद्राको विषयमा गुनासो र उजुरी बढेको छ । ‘राष्ट्र बैंकमा यस विषयमा धेरै गुनासा तथा उजुरीहरु आएका छन्, यस विषयमा थप बुझ्ने काम भइरहेकाे छ’ उनी भन्छन् । नेपालमा भन्दा विदेशमा बस्ने नेपालीले यस्तो कारोबार गरिरहेको उनको अनुमान छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक भट्ट अहिले चर्चामा रहेको अवैध भर्चुअल कारोबारले सम्बन्धित व्यक्ति र मुलुकको अर्थतन्त्रलाई समेत चुनौती दिएको बताउँछन् । यसले धेरै नेपालीले विदेशमा पसिना बगाएर कमाएको रकम समेत जोखिममा पारेको उनको भनाइ छ । ‘ठूलो रकम कमाउने आशमा यस्ता ठाउँहरुमा पैसा हाल्ने गरिएको छ, तर यो जुनसुकै बेला समस्यामा पार्न सक्छ यसतर्फ सर्वसाधारण सचेत हुनुपर्छ’ भट्टले बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति