नोबेलको कदमको विरोधमा उत्रिए विद्यार्थी

Machchapuchchre

अर्थ राजनीति  ~  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे चार लाखभन्दा बढी रकम आफूहरूसित असुल्ने नोबेलको कदमको विरोधमा उत्रिएका विद्यार्थी आयोगको नियमभन्दा बाहिर कोही जानै नहुने बताइरहेका छन्। त्यसैले घरबाट धाउन सक्नेहरू, डेरामा बस्न खोज्नेहरू होस्टलमा बस्न मानिरहेका छैनन्। तर, होस्टल अनिवार्य भन्दै आएको नोबेलले अतिरिक्त शुल्क पनि नछाड्ने र पैसा पनि असुल्ने नीति लिएपछि विद्यार्थीले त्यसको तुलना जेलसँग गरेका हुन्। कलेजले अहिले मागेको साढे चार लाख बढी रुपैयाँ तिर्दै जाने हो भने पढाइ पूरा होउन्जेले २१ लाख पुग्ने उनीहरूको भनाइ छ। पूर्वसहमति विपरीत आइतबार नोबेल प्रशासनले अधिकांश विद्यार्थीलाई बाहिरै राखेर कक्षा चलाउँदै गर्दा विरोधका लागि यी विद्यार्थी गेटमा भेला भएका थिए। बिहीबार मोरङ प्रशासनसँगको छलफलमा नोबेलले दुई बुँदे सहमति गरेको थियो। जसको पहिलो बुँदामा अतिरिक्त शुल्क नलिने र दोस्रो बुँदामा विवाद साम्य नभएसम्म कक्षा नचलाउने उल्लेख थियो। प्रशासनका अघि यस्तो सहमतिमा हस्ताक्षर गरेर फर्केको नोबेलले शुक्रबारबाटै विद्यार्थीलाई अतिरिक्त शुल्कका लागि फेरि ताकेता सुरू गरेको थियो। ‘बिहीबार प्रशासनको रोहबरमा भएको छलफलमा कुनै अतिरिक्त शुल्क नलिने भनेको नोबेलले शुक्रबार फोन गरेर ताकेता गरेको छ,’ एमबिबिएस प्रथम वर्षमा छोरी भर्ना गराएका विराटनगरका एक अभिभावकले भने, ‘हाकाहाकी उता जे सहमति भए पनि हुँदै गर्छ, तपाईंहरूले पैसा नबुझाउने भए तपाईंको विद्यार्थीले कक्षामा प्रवेश पाउने छैन भन्छ। सरकारलाई अतिरिक्त शुल्क नलिने जवाफ दिने तर त्यो शुल्क नबुझाउने विद्यार्थीलाई कक्षामा प्रवेशै नदिने नोबेल मेडिकल कलेजको अड्डीले बारम्बार तनाव उत्पन्न गराउँदै आएको छ। यतिबेला पनि नोबेल परिसर तनावग्रस्त नै छ। नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले केही दिनअघि मात्रै टेलिभिजनहरूलाई अन्तर्वार्ता दिने क्रममा अतिरिक्त शुल्क नलिइएको र नियमले पाउने मात्रै लिइएको दाबी गरेका थिए। सरकारसँग र सार्वजनिक रूपमा एउटा कुरा भन्ने तर विद्यार्थी र अभिभावकसँग अर्कै व्यवहार गर्ने उनको र कलेजको दोहोरो शैलीको मारमा अभिभावक र विद्यार्थी परेका छन्। विद्यार्थी र अभिभावक कति त्रस्त छन् भने उनीहरू सार्वजनिक रूपमा नोबेल विरूद्ध बोल्नै मान्दैनन्। १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा साढे ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ। यसपटक नोबेलमा एक सय जना विद्यार्थी एमबिबिएसमा भर्ना भएका छन्। विद्यार्थी र अभिभावकहरू भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेक कुनै पनि शुल्क नबुझाउने अडानमा छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्